काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको औपचारिक सुरुवात गरेको छ । एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत ‘प्राजेक्ट’ २०२०–२०२१ सुरु गरिएको बताएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै एनओसीले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने अभिलेखिकरणको परियोजना सुरु भएको जानकारी दिएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यसलाई खेलकुदको ऐतिहासिक दिनको रुपमा ब्याख्या गरे । उनले खेलकुदको इतिहासलाई जगेर्ना गर्न संग्राहलयको परियोजना सफल हुने विश्वास ब्यक्त गरे ।
‘पहिलो चरणको सहयोग अन्तर्गत संग्राहलयको काम अघि बढाएका छौं । पहिलो चरणको सफलतासँगै दोस्रोचरणको काम समेत अघि बढ्छ । उद्धेश्य पुरा नहुन्जेलसम्म यसलाई अघि बढाउने छौ ।’ उनले भने ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत अभिलेखिकरणको परियोजना सञ्चालन हुन लागेको हो । परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
ओलम्पिक कमिटीले खेलकुदको इतिहासमा अभिलेखिकृत गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास स्वरुप परियोजना अघि बढाउन लागिएको बताएको छ । एनओसीले नेपाल ओलम्पिक संग्रहालयसँग मिलेर परियोजनालाई अघि बढाउने छ । कार्यक्रमलाई लिएर मार्चमा एनओसी र ओलम्पिक संग्रहालयबीच सम्झौता भएको थियो ।
एनओसीले विभिन्न खेलको सुरुवात, खेलकुद ऐनसँग सम्बन्धित दस्तावेज, एनओसीको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रर्दशन, प्रतियोगितासँग सम्बन्धित तस्विर र भिडियो संकलनको प्रयास गरिने बताएको छ ।
परियोजनाले नेपाली खेलकुदको डिजिटल आर्काईभको रुपमा आकार लिने र सबैका लागि उपलब्ध हुने उल्लेख गरेको छ । संग्राहलयमा ओलम्पिकसँग आबद्ध खेललाई बढी प्राथमिकता दिईने एनओसीको भनाइ छ ।





























प्रतिक्रिया