काठमाडौं,
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतसँग खेल्ने दुवै खेल उसैको मैदानमा खेलाउन प्रस्ताव गर्ने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ ।
एन्फा कार्यसमितिको बैठकले अक्टोबर ५ तारिखमा नेपालमा खेलिने तय भएको होम खेल दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले कुवेतमै खेलाउन प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपालमा आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गरी दशरथ रंगशालाको निर्माण कार्य भइरहेको छ ।
विश्वकप छनोट अन्तर्गत समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुबेत र चाइनिज ताइपेई रहेका छन् । नेपालले अस्ट्रेलियासँग अक्टोबर १० मा अवे सन् २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ तारिख उसैको मैदानमा खेल्नेछ ।
चाइनिज ताइपेईसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ । दोस्रो चरणको छनोटमा ४० टोलीले होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका विजेता र चार शीर्ष उपविजेता टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया