दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए ।
त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने क्रममा छन् । विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन् ।
उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करीब एक लाख पठाउनु पर्ने र त्यसको नतिजा १०/१५ दिनमा आइपुग्छ । “मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्यो सँगै करीब एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच/सात महीना लाग्छ ।” तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उनी यसपटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् ।
ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनी अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महीना अघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका छन् । ऋषि त्यसको नतिजाको पर्खाइमा छन् । विगत चार/पाँच वर्ष अघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिडेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताउँछन्। तर उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।”
गोरखापत्रबाट































प्रतिक्रिया