आयरल्यान्ड वुल्भ्समाथि नेपालको सानदार जित

आयरल्यान्ड वुल्भ्समाथि नेपालको सानदार जित

केन्द्रबिन्दु
196
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्समाथि सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको हो ।

आयरल्यान्ड वुल्भ्सले जितका लागि दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३७ सर्वाधिक रन जोडे । ३२ बल खेलेका उनले ४ चौका प्रहार गरे ।

साथै सन्दीप जोराले ३६ रन जोडे । ३५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी २० रनमा नटआउट रहे । त्यसअघि एकै ओभरमा कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेख आउट भएका थिए । चौथो ओभरको दोस्रो बलमा आशिफ १६ रन बनाएर आउट हुँदा रोहित शून्यमै आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएकाे थियाे । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् ।

त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे ।म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेलिरहेको हो । आयरल्यान्डकाे टोलीमा रहेका १५ मध्येका ९ खेलाडीले आयरल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । नेपाली टोलीलाई एकीकृत भएर खेल्न आयरल्यान्डसँगको दुई खेल निकै महत्त्वपूर्ण हुन सक्छ ।

Logo