इण्डो-नेपाल टी-२० क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेश विजयी

इण्डो-नेपाल टी-२० क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेश विजयी

केन्द्रबिन्दु
42
Shares

चितवन। भरतपुरमा जारी इण्डो–नेपाल टी-२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल सम्भावना बलियो बनाएको छ।

बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुदूरपश्चिमलाई सहज जित दिलाउन दीपक बोहोराले नटआउट ३५ र खडक बोहोराले नटआउट २८ रन बनाए।

दीपकले २२ बलमै ४ छक्का र १ चौका प्रहार गर्दै ३५ रन जोडेका थिए। खडकले १९ बलमा ३ चौका र एक चौका प्रहार गरे। यस्तै दीपक बोहोरा १२, अभिषेक पाल ६ र प्रकाश पाण्डे ४ रनमा आउट भए।

बागमतीका लागि कप्तान रामनरेश गिरीले ३ ओभरमा १६ रन खर्चिदै २ र विपिन आचार्यले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भयो।

बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३६ रन बनाए। २४ बल खेलेका पाण्डेले २ छक्का र ४ चौका प्रहार गरे। अर्का ओपनर शुभ कंशाकार २ चौका प्रहार गर्दै १४ रनमा आउट भए।

कप्तान गिरी १० रनमा आउट भए। बागमतीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। बागमतीलाई इशान र शुभ कंशाकरले राम्रो सुरुवात दिलाएका थिए।

पहिलो विकेटका लागि उनीहरुले ४४ रनको साझेदारी गरेका थिए। कंशाकर आउट भएलगत्तै टिमको स्कोर ५४ हुँदा इशान पाण्डे पनि आउट भएपछि बागमतीको पारी धरासायी बनेको थियो।

बागमतीलाई सस्तैमा अलआउट गर्न सुदूरपश्चिमका भोजराज भट्ट र नरेन साउदले समान ३ विकेट लिए। भट्ट र साउद दुवैले ४ ओभरमा १८ रन खर्चिएका थिए। खडक बोहोरा र बसन्त खत्रीले समान एक विकेट लिए। खेलमा सुदूरपश्चिमका नरेश साउद प्लेयर अफ दी म्याच घोषित भए।

यस्तै दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। भरतपुरले दिएको १२० रनको लक्ष्य मधेशले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो।

यो जितसंगै मधेशको सेमीफाइनल प्रवेश गर्ने सम्भावना कायमै छ। मधेशलाई सहज जित दिलाउन ओपनर साहिल पटेलले ५० रनको अर्धशतकीय पारी खेले। उनी दिपेश श्रेष्ठबाट आउट हुनुअघि २२ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए। रोहन विक ४० र राहुल मण्डल २५ रनमा नटआउट रहे। पहिलो विकेटका लागि साहिल पटेल र रोहन विकले ८३ रनको विस्फोटक साझेदारी गरेका थिए।

भरतपुरका कप्तान दिपेश श्रेष्ठले ३.५ ओभरमा ३२ रन खर्चिँदै एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर निर्धारित ओभरमा ११९ रन बनाउँदै अलआउट भयो। भरतपुरका लागि जेनिश महतले २९, विकलकुमार गुप्ताले २७ र प्रतीक श्रेष्ठले १९ रन बनाए।

भरतपुरलाई सस्तैमा अलआउट गर्न मधेशका भुलन सहनी एक्लैले ५ विकेट लिए। ४ ओभर बलिङ गरेका भुलनले ३१ रन खर्चिएका थिए। यस्तै विशाल पटेलले २, अभिषेक तिवारी, प्रदीप पासवान र अरनिको यादवले समान एक विकेट लिए।
पाँच विकेट लिएका मधेश प्रदेशका भुलन सहनी प्लेयर अफ दी म्याच घोषित भए।

प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा छ भने भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा छ। ३ खेलमा २ जित र एक हारका साथ समान ४ अंक भए पनि नेट रनरेटको आधारमा पछि पर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ।

प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अंकका साथ पाचौं स्थानमा झरेको छ।

बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा छ। प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ।

Logo