एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन्।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिनेछ। समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन्।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिनेछ। सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबीच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ। फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

Logo