गुजरातमाथि दिल्लीको सहज जित

गुजरातमाथि दिल्लीको सहज जित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। जारी सिजनको इन्डियन प्रिमियर लिग आइपीएलमा सर्वाधिक कम स्कोरमा गुजरात टाइटन्सलाई समेटेको दिल्ली क्यापिटल्सले ६ विकेटको जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो। आइपीएल इतिहासमा यो सर्वाधिक कम पाँचौं स्कोर हो।

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो।

रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७.३ ओभरमा ८९ रनमा समेटिन पुग्यो। गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई/दुई विकेट लिए।

९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन। दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ विदा भए।

त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए। अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए। कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले।

गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक/एक विकेट लिए। आइपीएल इतिहासमा बल बाँकीको हिसाबले दिल्लीले सर्वाधिक ठूलो जित निकालेको हो।

दिल्लीले लक्ष्य ६७ बल बाँकी हुँदा पूरा गरेको हो। जारी सिजनमा तेस्रो जित निकालेको दिल्ली तालिकाको छैटौं स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थनमा खस्किएको छ। आइपीएल अन्तर्गत बिहीबार पञ्जाव र मुम्बई भिड्ने छन्।

Logo