रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो।

यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो भएको छ। पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा बर्नाडो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकिएको हो।

यसअघि १२औं मिनेटमै रोद्रिगोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। भिनिसियस जुनियरले डिबक्सभित्रबाट दिएको पासलाई रोद्रिगोले दोस्रो प्रयासमा गोल गरेका थिए। ७६औं मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गरेका थिए।

८१औं मिनेटमा केभिन डि ब्रुयनाले पेनाल्टी एरियाबाट गरेको प्रहार आकाशिँदा सिटीले अग्रता लिने राम्रो मौका गुमाएका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो।

च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिडले १४ पटक उपाधि जितिसकेको छ भने म्यान्चेष्टर सिटीले गत सिजन पहिलो उपाधि जितेको हो।

अब रियल मड्रिडले सेमिफाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकको सामना गर्नेछ। जोसुवा किम्मिचको दोस्रो हाफको गोल निर्णायक बन्दा बायर्नले अन्तिम चारको स्थान सुरक्षित गरेको हो। पहिलो लेगमा २-२ गोलको बराबरी भएको दुई टोलीबीच म्युनिकमा भएको दोस्रो लेगमा किम्मिच नायक बने।

Skip This
Skip This
Logo