वेष्ट इण्डिजलाई विश्वकप जिताउने खेलाडीहरु नेपालमा, अब सुध्रिएला त नेपालको प्रदर्शन ?[भिडियोसहित]

वेष्ट इण्डिजलाई विश्वकप जिताउने खेलाडीहरु नेपालमा, अब सुध्रिएला त नेपालको प्रदर्शन ?[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली नेपाल आइपुगेको छ । दुई पटक एकदिवसीय र टी–२० विश्वकप जितिसकेको वेस्ट इन्डिजको क्रिकेट टोली नेपाल आइपुगेको हो । यो टोलीले नेपालीविरुद्ध ५ टी–२० खेलको सिरिज खेल्नेछ ।

वेस्ट इन्डिजविरुद्धको ५ वटै खेल नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिजअन्तर्गत पहिलो खेल वैशाख १५ गते शनिबार हुनेछ । यस्तै १६ गते दोस्रो, १९ गते तेस्रो, २० गते चौंथो र २२ गते अन्तिम तथा पाँचौं खेल हुनेछ ।

वेष्ट इण्डिज ‘ए’ अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने अहिलेसम्मकै सबभन्दा उच्च स्तरको टोली हो । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

पाँच टी–२० खेलको सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ ले सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल पठाएको छ । ‘ए’ टिम भनेर नाम दिइएता पनि वेस्ट इन्डिजले भारत, अष्ट्रेलिया र न्यूजिल्याण्डसँग टेष्ट्र, ओडिआई र टि–ट्वान्टी खेलिसकेका खेलाडीहरु नेपाल पठाएको हो । १५ सदस्यीय वेष्ट इण्डिजको टोलीमा कदिम एलियन, जोशुवा विशोप र मार्क दयालले मात्रै सिनियर टोलीबाट खेलेका छैनन् ।

वेस्टण्डिजको टिममा आईपिएल देखि संसारका अन्य चर्चित लिग खेलिसकेका खेलाडीदेखि विश्वकप समेत खेलेका खेलाडी समावेश छन् । सोही कारण वेस्टण्डिजको टिमले नेपालमा हुने पाँच खेलको सिरिज क्लिन स्विप गर्ने योजना बनाएको छ । तर नेपाली क्रिकेटले भने विश्वकप अघि गुमाएको लयलाई फर्काउने प्रयासमा रहेको छ । नेपाली क्रिकेटले पछिल्ला समय खेलेका लिग–२, नेपाल टी–२० आई ट्राइ नेसन सिरिज, हंगकंग टी–२० आई सिरिज, भारतका स्टेट क्लबसँगको सिरिज र एसिसी टी–२० प्रिमियर कपमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । सोही कारण नेपालका खेलाडीहरु वेष्ट इन्डिजविरुद्ध कमब्याक गर्ने तयारीमा छन् ।

वेस्टइण्डिजका प्रशिक्षकले पनि नेपाललाई कमजोर आँक्न नहुने बताईसकेकाले नेपाललाई वेस्ट इण्डिजले बलियो टिमका रुपमा लिएको छ । वेस्ट इण्डिजविरुद्ध नेपालको पावर हिटिङ र फास्ट बलिङको परीक्षा समेत यो सिरिजमा हुनेछ । विश्वकप अघि कुशल भुर्तेल फर्ममा आउनका लागि समेत यो सिरिज महत्वपूर्ण हुनेछ । वेस्ट इण्डिजले नेपालको सिरिजबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गर्ने भएकाले उसले पनि यो सिरिजलाई अत्यन्तै महत्वका साथ हेरिरहेको छ ।

कस्तो छ नेपाल आउने वेष्ट इण्डिज ‘ए’ टोली ?
सन् २०१२ र २०१६ मा वेष्ट इण्डिजले टी–२० विश्वकप जित्दा शीर्षक्रमका ब्याटर ३५ वर्षीय जोनसन चार्ल्सले ४८ टी–२० आईमा १ शतकसहित १ हजार ८५ रन बनाएका छन् । उनले गतवर्ष दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको शानदार शतकीय इनिङ खेलेका थिए ।

२०१६ को टी–२० विश्वकपको सेमिफाइनलमा घरेलु टोली भारतलाई हराउन वानखडे स्टेडियममा ३६ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । ओपनिङ र तेस्रो नम्बरमा खेल्ने उनी ठूला सटका लागि परिचित छन् ।

यस्तै २६ वर्षीय शीर्षक्रमका ब्याटर आन्द्रे फ्लेचर वेष्ट इण्डिजले सन् २०१६ मा टी–२० विश्वकप जित्दाका सदस्य हुन् । वेष्ट इण्डिजबाट उनले २५ ओडीआई र ५४ टी–२० आई खेलेका छन् ।

वेष्ट इण्डिजका ब्याटिङका भविष्य एलिक एथानाजले ४ टेस्ट र १० ओडीआई खेल खेलेका छन् ।

३२ वर्षीय रोस्टन चेसले वेष्ट इण्डिजको कप्तानी गर्नेछन् । स्पिन अलराउन्डर चेसले ४९ टेस्ट खेलमा ५ शतक र ११ अर्धशतकसहित २२ सय ६५ रन बनाउनुका साथै ८५ विकेट लिएका छन् । यस्तै ४५ ओडीआई र ११ टी–२० आई खेलेका छन् ।

२७ वर्षीय केसी कार्टी अर्का आशलाग्दा ब्याटर हुन् । अष्ट्रेलियाविरुद्ध दोस्रो ओडीआई खेलमा गत फेब्रुअरीमा ८८ रनको इनिङ खेलेका थिए । फिल्डिङका चर्चित स्पिन अलराउन्डर फबिएन एलेनले २० ओडीआई र ३४ टी–२० आई खेल खेलेका छन् ।

वेष्ट इण्डिज ए टोलीः
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

Logo