आइपीएल: लखनऊलाई हराएसँगै राजस्थान प्लेअफको नजिक

आइपीएल: लखनऊलाई हराएसँगै राजस्थान प्लेअफको नजिक

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौं जित हात पारेको छ। अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। जवाफमा राजस्थानले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। यो जितसँगै राजस्थान प्लेअफको एकदमै नजिक रहेको छ। उसले एक खेल जित्दा प्लेअफ पक्का हुने छ।

राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जुन पहिलो दुई ओभरमा सफल सावित भयो। लखनउ सुपर जायन्ट्सको इनिङ्सको पहिलो ओभरमा दुई चौका प्रहार गर्ने क्विन्टन डी कक तेस्रो बलमा आउट भए। उनी ८ रन बनाएर ट्रेन्ट बोल्टको शिकार बने। अर्को ओभरमा अघिल्लो खेलमा नटआउट शतक प्रहार गरेका मार्कुस स्टोइनिस खाता नखोलेर पभेलियन फर्किएका थिए।

त्यसपछि कप्तान केएल राहुलले दिपक हुड्डाको साथमा लखनऊ सुपर जाइन्ट्सका लागि तेस्रो ठूलो साझेदारीको कीर्तिमान बनाए। उनीहरुले ११५ रन जोडे। यस क्रममा राहुलले ३१ बलमा र दीपकले ३० बलमा अर्धशतक पूरा गरेका थिए।

तेस्रो विकेटको साझेदारी १३ औं ओभरमा १२६ रनको स्कोरमा टुङ्गियो। दीपक हुडा ३१ बलमा ५० रन बनाएर रविचन्द्रन अश्विनको बलिङमा आउट भएका थिए। लखनउको टोलीले १५ औं ओभरमा १५० रन पुरा गरेपनि १६ औं ओभरमा निकोलस पुरन (११) को विकेट गुमाएको थियो। राहुलले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको पारी खेले। १८ औं ओभरमा १७३ रनको स्कोरमा राहुल आउट भएका थिए। त्यसपछिको ओभरमा रन धेरै रन बन्न नसक्दा लखनऊको टोली २०० सम्म पुग्न असफल रह्यो।

आयुष बडोनी १८ रनमा अविजित रहे भने कृणाल पाण्ड्या १५ रनमा अविजित रहे। राजस्थान रोयल्सका लागि सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई यशस्वी जैसवाल र जोस बटलरले राम्रो सुरुवात गरेका थिए। दुवैले पावरप्लेमा नै स्कोरलाई ५० भन्दा माथि पुर्याएका थिए। तर, छैठौं ओभरमा जोस बटलरको विकेट गुम्यो। उनी १८ बलमा ३४ रन बनाएर आउट भए। जैसवाल पनि ठूलो इनिङ खेल्न नसकेर १८ बलमा २४ रन बनाएर सातौं ओभरमा ६० रनको स्कोर हुँदा प्याभिलियन फर्किए। इम्प्याक्ट खेलाडी रायन परागले खास केही गर्न सकेनन्। उनी ११ बलमा १४ रन बनाएर अनुभवी अमित मिश्राको शिकार बने।

त्यसपछि सञ्जु सामसन र ध्रुव जुरेलले पारी सम्हालेका थिए। दुवैले लखनउका बलरलाई लक्षित गर्दै आ–आफ्नो अर्धशतक पूरा गरे। चौथो विकेटका लागि ६२ बलमा १२१ रनको नटआउट साझेदारी भएको थियो, जसको मद्दतमा राजस्थान रोयल्सले एक ओभर बाँकी रहँदै लक्ष्य पुरा गरेको थियो। सामसनले ३३ बलमा ७१ रनको अविजित इनिङ खेले। जुरेलले ३४ बलमा अविजित ५२ रन बनाए। लखनउ सुपर जाइन्ट्सका लागि यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक एक विकेट लिए।

जितपछि राजस्थानले ९ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने लखनऊ ९ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा छ।

आइपीएल अन्तर्गत आज २ खेल हुने छन्। पौने ४ बजे गुजरात र बेंग्लुरु तथा राति पौने ८ बजे चेन्नाइ र हैदरावाद आमने सामने हुने छन्।

Logo