इंग्ल्यान्ड ‘सी’सँग खेल्न नेपाली राष्ट्रिय टिमकाे घोषणा

इंग्ल्यान्ड ‘सी’सँग खेल्न नेपाली राष्ट्रिय टिमकाे घोषणा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । इंग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक भिसेन्जो एल्बर्टोले किरण लिम्बुको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेका हुन् ।

घोषित टिममा गोलरक्षकहरूमा अभिषेक बराल र विशाल सुनार, रक्षकहरूमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् भने मिडफिल्डरहरूमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बू छन् ।

त्यस्तै, स्ट्राइकरहरूमा दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।

राष्ट्रिय टिमलाई सोमबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ पनि गरेको छ ।

अध्यक्ष पंकजविक्रम नेम्वाङले कोभिडपछि रोकिएर निकै लामो प्रयासपछि नेपालको टिम इंग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बताए । उनले भने, ‘निकै लामो प्रयासका बाबजुद नेपालको टिम इंग्ल्यान्ड ‘सी’ टिमसँग यो मैत्रीपूर्ण खेल हुन लागेको छ । यो प्रयास पहिलेको कार्यसमितिले थालनी गरेको थियो । कोभिड आयो त्यसपछाडि भएन । अब चाँडै सफल हुँदै छ । यसमा प्रयास गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष नेम्वाङले खेलकुदको माध्यमबाट दुई देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । सहभागी खेलाडीहरुलाई देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नका साथै आफ्नो सम्बन्ध र भाइचाराको निम्ति अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘तपाईहरु जो जो जाँदै हुनुहुन्छ देशको प्रतिनिधित्व गरेर जानु हुनेछ । देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नु हुनेछ थाहा छ । तर, आफ्नो सम्बन्ध भाइचाराको निम्ति पनि आफ्नो व्यवहार बढाएर आउनुहोला ।’

नेपालले वैशाख २४ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

Logo