सन्दीप लामिछानेको टी-२० विश्वकप खेल्ने सपना अझै जिवित [भिडियाेसहित]

सन्दीप लामिछानेको टी-२० विश्वकप खेल्ने सपना अझै जिवित [भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको र यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

बलात्कार मुद्दा खेपिरहेका लामिछाने लामोसमय देखि सामाजिक सञ्जालमा सक्रिय थिएनन् । तर, बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक खेल्न लागेको टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरे लगतै उनले ब्याक टु ब्याट स्टाटस लेखेर निराशा व्यक्त गरेका हुन् । सुरुमा एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका थिए ।

‘म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’ उनले लेखेका थिए ।

त्यसपछि तेस्रो स्टाटसमा भने उनले यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् । अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको छ । तर, उक्त फैसलाविरुद्ध उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । यो साता सुनुवाईको पेशी तोकिए पनि लगातार हेर्न नभ्याइनेमा परेको उक्त मुद्धा अर्को साता प्राथमकतामा राख्ने अदालतले जनाएको छ । तर, सँगैका सहकर्मी टी(२० विश्वकप खेल्ने टोलीमा पर्दा आफू नसमेटिनुमा सन्दीपको छटपटी प्रष्ट देखिएको छ । हुन त क्यानको निर्णय यो अनपेक्षित पनि थिएन, किनकि अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप क्रिकेटबाट बाहिर नै छन् । उनको अनुपस्थितिमा विश्वकपको टोलीमा युवा स्पिनर ढकाललाई मौका दिइएको छ ।

तर, क्यान स्रोतका अनुसार सन्दीपले टी(२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्नेछन् । टी(२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ । यो अनुसार यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपको झिनो आशा भनेको यही नै हो । तर, त्यसका लागि अदालतले सक्रिय देखाउनै पर्छ ।

उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भयो भने एक(दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दिएको खण्डमा उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने क्यान स्रोतको भनाई छ ।

Logo