आइपीएल: गुजरातलाई पराजित गर्दै बैंग्लुरू सातौँ स्थानमा

आइपीएल: गुजरातलाई पराजित गर्दै बैंग्लुरू सातौँ स्थानमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पछिल्ला खेलमा लगातार जित निकालेपछि रोयल च्यालेन्जर्स बेंग्लुरुको प्ले अफ सम्भावना कायमै रहेको छ। शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बेंग्लुरु (आरसीबी) तालिकाको सातौं स्थानमा उक्लिएको छ।

अब बाँकी तीन खेल नै जित निकाल्न सके प्लेअफमा पुग्ने टिमकाबीचमा रस्साकस्सी हुने पक्का देखिएको छ। शनिबार रातिको खेलमा आरसीबीका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।

उनको यो निर्णयलाई बलरहरुले पावर प्लेमा नै सही साबित गरेका थिए। खराब सुरुवातपछि गुजरातले आरसीबीलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य आरसीबीले ४ विकेट गुमाएर १३.४ ओभरमा पूरा गरेको थियो।

गुजरातका ऋद्धिमान साहा कप्तान शुभमन गिलसँगै मैदानमा ब्याटिङ गर्न आएका थिए। ऋद्धिमान साहाले १ रन बनाएर भने शुभमन गिल २ रन बनाएर मोहम्मद सिराजको शिकार बने। उत्कृष्ट फर्ममा रहेका साई सुदर्शन पनि ६ रन बनाएर पभेलियन फर्किए पनि डेभिड मिलर र शाहरुख खानले चौथो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरे। डेभिड मिलर ३० रन बनाएर आउट भए भने ३७ रन बनाएर खेलिरहेका शाहरुख खान विराट कोहलीले रनआउट गरे।

मध्यक्रममा राहुल तेवाटियाले ३५ रनको उत्कृष्ट इनिङ खेले भने राशिद खानले पनि १८ रनको योगदान दिए। लगातार विकेटको पतन भएपछि गुजरातले विजय शंकरलाई प्रभावशाली खेलाडीका रूपमा पठाए पनि उनले मात्र १० रन जोडे। टाइटन्सले अन्तिम ५ विकेट १६ रनमा गुमायो र पुरै टोली १४७ रनमा समेटियो। आरसीबीका लागि सिराज, यश दयाल र विजयकुमार विशाकले २–२ विकेट लिए भने कर्ण शर्मा र क्यामरुन ग्रीनले १–१ विकेट लिए।

१४८ रनको लक्ष्यको जवाफमा फाफ डु प्लेसिस र विराट कोहलीले उत्कृष्ट सुरुआत गरे। पहिलो विकेटका लागि ५.५ ओभरमा ९२ रन जोडे। कप्तान फाफले २३ बलमा १० चौका र ३ छक्का सहित ६४ रनको तुफानी पारि खेलेर आउट भए।

फाफ डु प्लेसिसको विकेट गुमेपछि आरसीबीको मिडल अर्डर केही विग्रीएको थियो। ९२ रन बनाउँदासम्म जोगिएको विकेट ११७ रन पुग्दा ६ विकेट गुमेको थियो। विल ज्याक १, रजत पाटीदार २, ग्लेन म्याक्सवेल ४ र क्यामरन ग्रीन १ रन बनाएर आउट भएपछि आरसीबी दबामा आएको थियो।

एक छेउँमा रहेका विराट कोहली भने २७ बलमा ४२ रनको पारि खेलेर आउट भएका थिए। स्वपनील सिंहले सातौं विकेटका लागि दिनेश कार्तिकलाई साथ दिए। उनीहरुले मिलेर ३१ रनको महत्वपूर्ण साझेदारी गरे र आरसीबीले खेल ४ विकेटले जित्यो। दिनेश कार्तिकले १२ बलमा २१ रन बनाए भने स्वप्निल सिंहले ९ बलमा १५ रन बनाएर नटआउट रहे। गुजरातका लागि जोस लिटिलले सर्वाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए।

आइपीएलमा आज पञ्जाव किंग्स र चेन्नाई सुपर किंग्स तथा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स आमने सामने हुने छन्। पहिलो खेल पौने चार बजे सुरु हुने छ भने दोस्रो खेल राति पौने ८ बजे सुरु हुने छ।

Logo