‘क्यानमा अध्यक्षभन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन्’ -उपाध्यक्ष रोशन सिंह

‘क्यानमा अध्यक्षभन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन्’ -उपाध्यक्ष रोशन सिंह

केन्द्रबिन्दु
182
Shares

क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएर टी–२० क्रिकेट विश्वकप खेल्नबाट वञ्चित हुनुमा नेपाल क्रिकेट संघ (क्यान)काे गैर-जिम्मेवारीपनलाई मानिएको छ। सन्दीपको भिसाका लागि आफूले हरसम्भव प्रयास गरेकाे दाबी गर्दै आएकाे क्यानले १५ सदस्यीय खेलाडी सूचीमा नाम नराखेकै कारणले सन्दीपले विश्वकप खेल्नबाट वञ्चित भएको चर्चा चुलिएको हाे । यसमा क्यानभित्रकाे राजनीति पनि घुसेकाे भनिएकाे छ । यसै सन्दर्भमा हामीले आज क्यानका उपाध्यक्ष रोशन सिंहसँग कुराकानी गरेका छाैं ।

भर्खरै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । यो नयाँ बजेटले खेलकुद क्षेत्रलाई कति महत्व दिएको छ, कुन प्राथमिकतामा राखेको छ ?

-अहिले नयाँ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ आउने वित्तिकै खेलकुदको पनि क्रिकेट विधालाई पहिलो प्राथमिकतामा राख्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपको तयारी स्वरुप पाँच करोड बजेट निकासा गराउनु भयो । नेपाली खेलको इतिहासमै कुनै इभेन्टको तयारीका लागि सरकारले पाँच करोड सहयोग गरेको यो पहिलो पटक हो । यसका लागि सरकार र राखेपका सदस्य सचिव लगायत सबै सम्बन्धित सबै जनालाई ध्यावाद पनि दिन चाहछु ।

बजेटको सम्बन्धमा कुरा गर्नुपर्दा विराटनगर, त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट स्टेडियम (टीयू) र मूलपानी क्रिकेट ग्राउण्डको स्तरोन्नतीका लागि सरकार गम्भीर देखिएको छ, यसका लागि बजेट समेत छुट्याएको छ । खेलकुद क्षेत्रमा कति बजेट छ भन्नेबारे यकिन जानकारी त भएन । तर, क्रिकेट विधामा सबैभन्दा बढि बजेट परेको छ भन्ने चाँही जानकारी छ । यसैबाट प्रष्ट हुन्छ सरकारले नयाँ बजेटमा खेलकूद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

अस्ति भर्खरै खेलकुदमन्त्रीले नै खेल क्षेत्रमा बजेट पुगेन भन्दै संसदीय समितिमा अहिलेको बजेटले लुँडो र चेस खेलाउन मात्र पुग्छ भन्नुभएको थियो । त्यति कम बजेट विनियोजन हुँदै आएको छ र यस क्षेत्रमा ?

-होइन, खेलकुदमन्त्रीले भन्नुभएको कुरामा म विमति जनाउन चाहँदिन । उहाँ आफैं पनि खेलकुदप्रेमी हुनुहुन्छ । समग्र खेललाई राम्रोसँग बुझ्नु भएको छ । उहाँको भनाईको तात्पर्य हेर्ने हो भने सरकारको नीति तथा कार्यक्रम देशको विकासका लागि भन्दा पनि देशलाई चिनाउने र पर्यटक भित्र्याउने माध्यमलाई कम प्राथमिकता दिएको देखिन्छ । मन्त्रीले पनि त्यहि सोच्नुभएको होला । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने केही देशहरुले खेलकुद हवका रुपमा बिकास गरेको देखिन्छ । तर हाम्रो सरकारले अहिले त्यसरी हेरेको छैन । खेलको क्षेत्रमा लगानी गर्यो भने खेर जाँदैन । तर, पहिले सरकारले पूर्वाधारमा ध्यान दिनुपर्यो । टेस्ट क्रिकेट टोली नेपालमा ल्याएर खेलाउने हो भने कहाँ बसाउने ? ड्रेसिङ रुम काम चलाउ मात्र छ । डायनिङ टेबल छैन । नेपालको दर्शक अहिले विश्वको एक नम्बर छ । मैले होइन, विश्वले भन्दै छ । तर, दुर्भाग्य दर्शकका लागि बस्ने व्यवस्था छैन । भूइँमा बसेर क्रिकेट हेर्नुपरेको छ । अब कसरी भन्न सकिन्छ सरकारको ध्यान खेल क्षेत्रमा छ भनेर ?

यो भन्नुको अर्थ के हो भनेपछि सरकारले बाटो, पुल मात्र बनाएर हुन्न ? विदेशीसँग ऋण लिएर पोखरामा विमानस्थल बन्यो, भैरहवामा विमानस्थल बनायो । झापामा ट्राभल हाउस बनायो । त्यही पूर्वाधारका काम नै भइरहेको छैन । थन्काएर राखेर त्यो ऋण कहिले चुक्ता हुने त ? तर, अहिलेका मन्त्रीले जसरी सोच परिवर्तन गर्न खोज्नुभएको छ, सरकारले त्यो गर्न सकेको छैन । एकपटक मात्र सरकारले खेल क्षेत्रमा लगानी गरेर हेरोस् पर्यटक मात्र कति धेरै भित्रिने छन् । त्यो भनेको सरकारलाई आर्थिक रुपमा बलियो बनाउने पाटो हो । हामी एसिया कप खेल्दै गर्दा पाकिस्तान भारतमा नजाने, भारत पाकिस्तान नजाने, यूएईमा पाकिस्तान खेल्न मान्ने, भारत खेल्न नमान्ने । यिनिहरुको पनि त भित्रै आफ्नै राजनीति छ नि । त्यो राजनीतिले श्रीलंकामा लगिदियो । आजको दिनमा हाम्रो देशमा पूर्वाधार भइदिएको भए उपयुक्त विकल्प नेपाल हुन सक्थ्यो । भारत र पाकिस्तानको खेल भइदिएको भए सम्झिनुस् नेपालमा कति पर्यटक आउने थिए । खेलकुदले पर्यटक वर्ष घोषणा गरेको भन्दा बढी पर्यटक भित्र्याउन सक्छ । सरकारले यो विषयमा ध्यान दिन आवश्यक छ ।

२०२७ मा हुने महिला विश्वकपको आयोजना गर्न आईसीसीले अनुमति दिएको छ । तर, आजसम्म पनि सरकारले केही तयारी सुरु गर्न सकेको छैन । पूर्वाधार तयारी गर्दै क्रिकेटको विकास गर्न भन्दै लामो समय दिएको हो नि त । तर, हामी त्यसमा पनि चुकिरहेका छौं । क्रिकेटमा सरकारको बजेट थोरै हुन्छ, आईसीसीले पूर्वाधार विकासका लागि भन्दै बजेट दिँदैन । नेपालमा नीति ल्याउने कार्यान्वयन नगर्ने प्रवृति हावी भयो । अहिलेको मन्त्रीले केही गर्न खोजिरहनुभएको छ । सदस्य सचिवले पनि क्रिकेटलाई राम्रो रुपले हेर्नुभएको छ । विभिन्न समयमा उहाँले सहयोग पनि गर्नुभएको छ ।

टी-२० क्रिकेटमा भर्खरै नेपालले नेदरल्याण्डसँग खेल खेल्यो । तर अपेक्षा गरेअनुसार, शुभेच्छुकहरुको उत्साह अनुसार खेल प्रदर्शन गर्न सकेन । यसमा तयारी नपुगेको, पिचको कन्डिसन नबुझेको हो कि अन्य प्राविधिक कमजोरी भएर हो ?

-यो प्रदर्शनको कुरा गर्ने हो भने दुइ वटा पाटा हुन्छन् । हामीले टोलीलाई झण्डै एक महिना अगाडी अमेरिका पठायौं । नेपालमा छँदा पनि निरन्तर खेलहरु भइरहेका थिए । हामीले तयारीकै लागि भनेर भारत पठायौं । तर पनि दुई तीन कुराहरु खट्किएको जस्तो देखियो । विश्वकपको पहिलो खेलमा नेपालले जुन नतिजा निकाल्यो हामी सबै दुखी छौं । खेलाडी, पदाधिकारी , दर्शक सबै । अपेक्षाकृत नतिजा आएन । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । खेल हो, कहिले राम्रो पनि हुन सक्छ, कहिले नराम्रो पनि हुन सक्छ । तर अब मंगलबार नेपालको खेल श्रीलंकासँग छ, हिजाको खेललाई सम्झिएर राम्रो प्रदर्शन गर्नेछन् । त्यहाँ नेपाली खेलाडीले मात्र खेलेका होइनन् । त्यहाँ ९९ प्रतिशत नेपाली दर्शक पनि थिए । टीयूभन्दा बढी दर्शक नेपलको समर्थनमा उत्रिएका थिए ।

टी-२० क्रिकेटमा सन्दीप लामिछानेको अभाव खड्किएको त होइन ?

-अवश्य पनि सन्दीप नहुँदा टोली, अभिभावक र समग्र दर्शकको ध्यान नै खल्बलिएको छ । सन्दीप टोलीमा नहुनु हाम्रो लागि दुर्भाग्य हो । सन्दीप भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो । सन्दीप टोलीमा भइदिएको भए खेलको प्रदर्शन र परिणाम नै अर्कै हुन्थ्यो ।

सन्दिप लामिछानेले भिसा नपाउनुमा क्रिकेट संघ (क्यान) को पनि कमजोरी देखाइएको छ । १५ जनाको सूचिमा समावेश नगराएको, हतार गरेर सूची बनाएको भन्ने टिकाटिप्पणी पनि सुनिएको छ नि, के भन्नुहुन्छ ?

-सन्दीपको विषयमा तपाईंले उठाउनुभएको कुरा जायज हो । टोली निर्धारण गर्ने टीममा हामी पनि थियौं । क्यानको छुट्टै एउटा विधान छ । त्यसमा सबैभन्दा बलियो भूमिका, काम कर्तव्य र अधिकार सचिवलाई दिएको छ । अध्यक्षको पनि त्यति धेरै अधिकार हुन्न । उपाध्यक्ष भनेको त अध्यक्ष नभएको बेला कार्यक्रमको उद्घाटन गर्ने लगायतका काम मात्रै हुन् । सन्दिपलाई २५ को स्क्वार्डमा राखिएको थियो कि थिएन भन्ने जुन कुरा छ नि, त्यसमा आईसीसीको एउटा गाइडलाईन थियो यति मिति भित्रमा पठाउनुपर्ने भनेर । त्यो मितिको अन्तिम दिनसम्म सन्दिपको फैसला नहुँदाखेरि हामीले १५ जना खेलाडी र १० जना अफिसियल गरि २५ जनाको नाम पठाउनुपर्ने थियो । त्यसमा सन्दिपको नाम थिएन । मलाई फेरि प्रचारबाजी गर्न आउँदैन यथार्थ बोल्न आउँछ । सन्दिपको नाम नहुँदाखेरि म पनि दुःखी भए । दर्शक पनि निराश भए ।

सन्दीपलाई मैले भेटेपछि प्रयास गर्छौं भन्ने आश्वासन दिएँ । मन्त्रीसँग म आफैं पनि भेट्न गएँ । क्रिकेट समर्थकहरु पनि सडकमा ओर्लिनुभयो । सन्दीप किन टिममा परेनन् ? कसरी परेनन् भन्ने ? आम चासो हुन थाल्यो । प्रश्न हामीमा पनि अल्झिएको छ । म क्यानको उपाध्यक्ष भएको नाताले के भन्न चाहन्छु भने, त्यो हामीबाट टाढाको विषय थियो । सन्दिप टोलीमा नअटाउनुको जिम्मेवारी सचिव (पारस खड्का) ले लिनुपर्छ । हामी टोलीका सदस्यको नाम पठाउन हतारियौं । भारत र अष्ट्रेलियाको नाम समेत नपठाईसकेको अवस्थामा हामी पनि एक दुई दिन पर्खिन सक्थ्यौं । हाम्रो सिस्टम पुगेन कि पावर पुगेन ? क्यानको पदाधिकारी भएको नाताले यो प्रश्नमा म आफैं पनि अल्झिएको छु । सन्दिप भन्दा अगाडि नै क्यानबाट १५ जनाको भिसा त लागि सकेको रहेछ । क्यानका केही पदाधिकारीहरुले घुम्न जाने, खेल हेर्न जाने, आफन्तको भिसा त लगाइसकेको रहेछ । अमेरिकी एम्बेसीले पनि यिनीहरुको एकआपसमै कलह रहेछ भन्ने जानकारी पायो । १५ जना खेलाडीको भिसा लागि सकेपछि अर्को मान्छेको भिसा के आधारमा लगाउने त भन्ने प्रश्न थियो । साँच्चै नै मेले सुने, बुझे अनुसार १५ जना खेलाडिको स्क्वार्डमा नपरेकै कारण सन्दीपले भिसा नपाएको निष्कर्षमा पुगेँ ।

म क्यानको पदाधिकारी भएका कारणले बुझ्दै जाँदा अमेरिकी दुतावासले जसरी पहिले हामीलाई विश्वास गरेको थियो । पछि त्यस्तो विश्वास गरेन । त्यसैले खेलाडीको भिसा नलागिकन अन्य धेरैको भिसाका लागि भएका कुराहरुमा भोलि न्यायपालिकाले छानविन गर्ला नि त ।

मैले क्यानले राष्ट्रिय खेलकुद परिषद्मा पठाएका पत्रहरु हेरें । त्यसमा १५ जना खेलाडिको लिस्टमा नाम नराखी भोलि कसैले नेपालबाट जानुपरे भनेर लेखिएको रहेछ । सन्दिप खेल्न नजाने भए, घुमाउन लैजानेले, विश्वकप हेर्न लैजाने र ? यो कुरा हामी क्यानको बोर्ड बैठकमा पनि गछौं ।

खेलाडीको सूची तयार गर्दा क्यान पदाधिकारी वा कार्यसम्पादन समितिमा कुनै सरसल्लाह नभएको हो ?

-हो, म आफैं पनि कार्यसम्पादन समितिमा छु । मलाई थाहा नभएको कुरा, कसरी खेलाडी छनोट गरियो ? मसँग सल्लाह नभएको सत्य हो । मैले विगतमा क्यान निलम्बनमा परेको पनि देखें । सन् २०१४ को विश्वकपमा नेपाली टोली सहभागि भइसकेपछि नेपाली क्रिकेटको अवस्था एकदम दयनीय भइसकेको थियो । म पनि त्यो बेला जिल्ला क्रिकेट संघको अध्यक्ष थिएँ । त्यतिखेर जिल्ला र प्रदेशको क्रिकेट सुकिसकेको थियो । त्यसो हुँदा राष्ट्रिय टोलीमा पनि एक दुई जना खेलाडीको हालीमुहाली थियो । त्यतिखेर मैले क्रिकेट संघको जिल्ला अध्यक्ष हो भन्दाखेरि यो निलम्बित जिल्लाको अध्यक्ष हो भन्थे । पछि कसैले उजुरी गर्यो अख्तियारमा गयो । पछि उहाँहरुले न्याय पाउनुभयो ।

त्यतिखेर हामी बंगलादेशको स्तरमा थियौं तर पछि पाँच वर्षमा धेरै नै क्षति व्यहोर्नुपर्यो । चाहेको भए हामी टेष्ट राष्ट्र बन्ने अवस्था हुन्थ्यो । क्यानले अब पनि यस्तै हर्कत गर्दै जाने हो भने आईसीसीले निलम्वन नगर्ला भन्न सकिन्न । यदि त्यसो भयो भने भोलिको दिनमा दोषी को होला त ? यो चिन्ताको विषय हो । यस्तै हो भने नेपाली क्रिकेट दुर्घटनामा नजाला भन्न सकिँदैन । तर, यसलाई सही ट्र्याकमा ल्याउन राष्ट्रिय खेलकुद परिषद्, अहिलेका मन्त्रीहरुको काँधमा जिम्मेवारी छ । यो विषयलाई उहाँहरुले गम्भीर रुपमा लिनुपर्दछ ।

क्रिकेटभन्दा बाहिरका व्यक्तिहरुलाई भिसा दिएर पठाउँदा पो सन्दीपले भिसा नपाएका हुन् की ?

-क्यानको लेटर हेड समेत दुरुपयोग भइरहेका छन् । सरकार किन मौन छ त ? क्रिकेटमा लगानी नगर्ने, कुनै पनि प्रतियोगिता आयोजना गर्दा नीजि कम्पनीलाई हायर गर्ने नागार्जुन गाउँपालिकाका मेयरलाई विश्वकप हेर्न गइदिनुपर्यो भनेर पत्र काटियो । ललितपुरका प्रमुख चिरञ्जीबि महर्जनले दिएको योगदान ती पत्र काट्नेले देखेनन् । जानुपर्ने त उहाँ हो नि ।

संघका केही पदाधिकारीहरुले गर्दा नेपाली क्रिकेट र क्रिकेट समर्थकमाथि अन्याय भएको छ । विश्वले सम्मानका साथ हेरिरहेको नेपाली फ्यानको मनोबल हामीले गिराएका छौं । हामी दोषी छौं । सरकारले यस विषयमा छानबिन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

Logo