सन्दीप १०० विकेटको कीर्तिमानमा पनि किन भएनन् खुशी ? भन्छन्- व्यर्थ लाग्यो [भिडियाे]

सन्दीप १०० विकेटको कीर्तिमानमा पनि किन भएनन् खुशी ? भन्छन्- व्यर्थ लाग्यो [भिडियाे]

केन्द्रबिन्दु
112
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले टी२० विश्वकपअन्तर्गत सोमवार बिहानको बङ्ग्लादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेटको कोशेढुंगा पूरा गरे । सबैभन्दा कम खेलेर १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने । यो कीर्तीमान कुनै चानचुने होइन । उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन्।

तर, उनी आफ्नो कीर्तीमानमा खुशीभन्दा दुःखी भएको पाइएको छ । बंगलादेशसँग हार व्यहोर्दा आफूले एक सय विकेट लिए पनि व्यर्थ लागेको टिप्पणी गरेका छन् । टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको उनको भनाई थियो ।

सो खेलमा सन्दीपले १४औँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै ९९ विकेट लिएका थिए । १६औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै सन्दीपले टी–२० आईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले ५४ खेलमा यो उपलब्धि पूरा गर्दै सर्वाधिक छीटो सय विकेट लिने दोस्रो खेलाडी बने। यसअघि ५३ खेलमा अफगानिस्तानका राशिद खानले सर्वाधिक छिटो १ सय विकेट लिएका थिए।

तर, १०७ रनको लक्ष्यमा पनि बङ्ग्लादेशविरुद्ध २१ रनको हार व्यहोरेपछि दुःख व्यक्त गर्दै सन्दीपले भनेका छन्, ‘दुई महत्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौँ। तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ। हाम्रो ब्याटिङ हेर्दा निकै दुःख लागेको छ। किन कि यो जित्नुपर्ने खेल थियो।’ ब्याटिङ नचलेको देख्दा उनको असन्तुष्टि प्रष्ट देखिन्थ्यो । उनले नेपालमा रहेका समर्थक पनि आफूहरुको प्रदर्शनबाट खुसी नभएको प्रतिक्रिया दिए। यस्ता कमजोरीलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने उनले प्रण गरेका छन् ।

मैदानमा फर्कन पाउँदा एकदम राम्रो लागेको बताएका सन्दीपले अमेरिकामा सम्पन्न विश्वकपका खेलमा सहभागी हुन नपाउँदा दुःख लागेको पनि बताएका छन्। यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

१० वर्षपछि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटमा कमब्याक गरेको नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ । सोमबार बिहान समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले टेष्ट राष्ट्र बङ्गलादेशसँग २१ रनले पराजित हुँदै विश्वकप यात्रा टुंगाएको हो । समूह डि बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

Logo