काठमाडौं महानगरपालिकाले गएराती सम्पन्न काभा महिला नेसन्स लिगमा उपविजेता बनेको नेपाली महिला भलिबल टोलीका प्रत्येक खेलाडी र सदस्यहरुलाई जनही एक–एक लाख पुरस्कार रकम प्रदान गरेको छ । नेपाल र भारतबीचको फाइनल खेल हेर्न त्रिुपरेश्वरस्थित दशरथ रंगशाला नै पुगेका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले भलिबल टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई १–१ लाख पुरस्कार प्रदान गरेका हुन्।
खेल सकिएको भोलिपल्ट (आज) उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । छुटेको काम गर्न गर्न सम्झाएको छ ।’ उनले खेलाडीहरुसँग भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’
सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट छन् ।
‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ ।’ सम्मानका क्रममा प्रमुख शाहले धारणा राखे ।
खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरे । ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो उर्जा पायौँ ।’ उहाँले खेललाई सुदृढ र विकसित बनाउन महानगरपालिका प्रतिवद्ध भएको बताउँदै भन्नुभयो, ‘अरु क्षेत्रमा पक्ष र विपक्ष हुन सक्छ यसप्रकार अन्तरराष्ट्रिय स्तरका खेलमा पक्ष विपक्ष हुँदैन । सबै नेपालीको दृष्टि एउटै हुन्छ ।’
सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे । ‘सन् २०१७ मा स्थापना भएको मध्य एशियाली भलिवल एशोसिएसनको पहिलो वर्षमा नेपालले स्वर्ण पदक हासिल गरेको थियो । महानगरपालिकाको सहयोगबाट हामी त्यो स्थानका लागि प्रयत्न गर्नेछौँ ।’ भट्टको भनाइ थियो ।
हिजो मात्र खेल सकिएको हो । आज नै महानगरपालिकाले बोलाएर सम्मान प्रदान ग¥यो । यसले जितका लागि थप जिम्मेवार बनाएको छ । टिम क्याप्टेन शाहीले भनिन्, ‘हामीले राम्रो खेल्ने टिमबाट धेरै कुरा सिक्ने अवसर पनि पायौँ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वित्त समितिका संयोजक इश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुलीसहित पदाधिकारीहरुले खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेका थिए । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको भलिवल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० सोझो सेटमा हराएको थियो । भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो । तर, यो उपाधि प्राप्त गर्न नेपालले खेललाई अझ सशक्त बनाउँदै अर्को प्रतियोगिताका लागि प्रतिक्षा गर्नु पर्ने भएको छ ।































प्रतिक्रिया