घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा बङ्लादेशसँग स्तब्ध भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेल मैदानमा ४-१ गाेलअन्तरले नेपाल पराजित भएकाे हाे ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपाल दोस्रो हाफमा एक गोल त फर्कायो तर, थप तीन गोल व्यहोर्न पुग्यो । खेलकाे नवौं मिनेट निराजन धामीको लामो प्रहार बंगलादेशका मोहम्मद आसिफले मुश्किलले बचाए । २१औं मिनेटमा पनि अर्को राम्रो अवसर गुमायो । निराजनले उपलब्ध गराएको पासमा अविनाश स्याङ्तानले फितलो प्रहार गरे ।
पहिलो हाफको अन्तिम समयमा बंगलादेशले पाएको अवसरमा गोल गर्दै अग्रता लियो । मिराजुल इस्लामले ४६ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । नेपालका निरज कार्कीले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बंगलादेशले फ्रीकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको हो ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । त्यस्तै, खेलको ७१औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
त्यसपछि नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१औं मिनेटमा गोल गरे । ९६औं मिनेटमा फेरि बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्यो । नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन । यसअघि समूह चरणमा भने नेपालले बंगलादेशलाई हराएको थियो ।































प्रतिक्रिया