विराटनगर
पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाली महिला टिमले बुधबार ( आज ) सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई उपाधिको दाबेदार टिमका रूपमा हेरिएको छ । नेपाल र श्रीलंकाबीचको खेल विराटनगरस्थित शहीद मैदानमा बिहान ११ बजे हुनेछ ।
समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालले श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य बनाएको छ । समूह चरणमा नेपालले भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो । नेपालसँग पराजित भएको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।
नेपाली खेलाडीले आइतबार सामान्य प्रशिक्षण गरे पनि सोमबार पूर्ण प्रशिक्षण गरेका छन् । घरेलु टोली भएको कारण नेपालले प्रतियोगिता हुने शहीद रंगशालामै नियमित प्रशिक्षण गर्न पाइरहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भने ‘प्रशिक्षण राम्रो भइरहेको छ । सबै खेलाडीले निकै मिहीनेत गरेका छन् ।’ प्रशिक्षण दौरानमा प्रशिक्षक खड्काले खेलाडीहरू पनि सबै फिट रहेको बताए । ‘इन्जुरी समस्या देखिएको छैन । श्रीलंकाविरुद्ध राम्रो नतिजामा जित हुने विश्वास छ,’ उनले भने ।
श्रीलंकाका मुख्य प्रशिक्षक तिलक रोहण अल्पोन्सुले नेपालविरुद्धको सेमिफाइनलमा आक्रामक खेल पस्कने बताएका छन् । प्रशिक्षक अल्पोन्सुले नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्य रहेको बताए ।
राजधानीबाट





























प्रतिक्रिया