काठमाडौं । फुटबलकै सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’ओरको विजेता फ्रान्सको पेरिसमा आज राति घोषणा गरिँदैछ । युरोपियन फुटबल प्रतियोगिताअन्तर्गत वर्षभर सबैभन्दा उत्कृष्ट खेल खेल्दै टोली र स्वयंका लागि विभिन्न ट्रफी तथा उपाधि जित्न र जिताउन सफल खेलाडीलाई यो अवार्ड दिइन्छ । यो अवार्डको टुंगो लगाउन मतदानले पनि उत्तिकै भूमिका खेल्छ । सन् १९५६ देखि प्रत्येक वर्ष उत्कृष्ट खेल्ने खेलाडीलाई दिइँदै आएको बालोन डी’ओरको यो ६८औं संस्करण हो । याे संस्करणसम्म आइपुग्दासम्म यो व्यक्तिगत अवार्ड अहिलेसम्म ४० भन्दा बढी खेलाडीहरुले जितिसकेका छन् ।
अब कसले बालोन डी’ओरको अवार्ड जित्ला भन्नेमा चासो सबैमा बढेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितमा करिब दुई दशक एकछत्र राज गरेका दुई महान खेलाडी अर्जेन्टिनी विश्वविजेता लियोनल मेसी र पोर्चुगिजस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी’ओरको मनोनयनमै नपरेपछि अब कसले यो अवार्ड उचाल्ला त भन्ने चासो बढ्नु स्वभाविक पनि हो ।
अहिलेसम्म यो अवार्ड मेसीले सर्वाधिक बढी ८ पटक जितेका छन् । दोस्रोमा फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले ५ पटक जितेका छन् । यी दुई खेलाडीले एक दशक भन्दा बढी समयसम्म बालोन डी’ओर मा एकछत्र राज गरेका थिए ।
सन् २००८ पछि पहिलो पटक बालोन डी’ ओर को समुहचरणमा पनि नअटाएका रोनाल्डो र मेसी हाल युरोप छोडी अमेरिकी र साउदी लिगका लागि खेलिरहेका छन् । जब उनीहरुले युरोपको फुटबल छाडे, बालोन डी’ओरले पनि छाड्यो भन्दा फरक पर्दैन । मेसी हाल अमेरिकी क्लब इन्टर मायमी र रोनाल्डो हाल साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित छन् । यसअघि सन् २०१८ मा भने रोनाल्डो र मेसीको छत्रछायाबाट बालोन डी’ओर बाहिरिँदै लुका मोड्रिचले जित्न सफल भएका थिए । त्यसपछि सन् २०२२ को बालोन डी’ओर पनि करिम बेन्जिमा जित्न सफल भएका थिए ।
अब मेसी र रोनाल्डोको बिँडो थाम्न आएका ब्राजिलियन स्टार एवं स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियर, इंग्लिस क्लब म्यानचेष्टर सिटीका अर्लिङ हाल्याण्ड, रोड्री, रियलकै जुड बेलिंङघम, ड्यानी कार्भाजल र किलियन एमबापे,
इटालियन क्लब इन्टर मिलानका लाउटारो मार्टिनेज, बार्सिलोनाका ड्यानी ओल्मो जस्ता युवा खेलाडीहरु नै अहिले बालोन डी’ओर अवार्डको मुख्य प्रतिस्पर्धामा छन् ।
पेरिसको थ्रिएटर डो चालेटमा करिब २५ सय दर्शकअघि र विश्वभरबाट करोडौं मानिसहरुले प्रत्यक्ष प्रशारण मार्फत बालोन डी’ विजेतालाई प्रत्यक्ष हेर्न पाउने छन् । अहिले बालोन डी’ओरका लागि उपयुक्त पात्र भन्दै सबैभन्दा बढी चर्चामा आएका खेलाडी हुन्, भिनिसियस जुनियर । भिनिसियसले राष्ट्रका लागि कोपा अमेरिका जिताउन नसके पनि स्पेनिस क्लब रियल मड्रिडका लागि भने सर्बोत्कृष्ट प्रदर्शन गर्दै सबैजसो ट्रफी जिताएका थिए । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई आफ्नो आइडल मान्ने भिनि रियल म्याड्रिडका सबैभन्दा भरपर्दा खेलाडीमध्येका एक हुन् ।
भिनिले अघिल्लो सिजन २४ गोल गरेका थिए, जहाँ ६ गोल त युरोपियन च्याम्पियन्स लिगमा मात्रै गरेका थिए । यसका साथै उनले २०२३–२४ मा रियलका लागि युरोपियन च्याम्पियन्स, ला लिगा र स्पेनिस सुपर कप जितेका थिए । रोनाल्डो, करिम बेन्जेमा जस्ता खेलाडीले रियल छाड्दै गर्दा उदाएका भिनि अहिलेका रियल म्याड्रिडका लागि गोल मेसिन नै हुन भन्दा फरक पर्दैन । यही साताको मंगलबार राति च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमण्डविरुद्ध उत्कृष्ट ह्याट्रिक उनको यो प्रमाण हो ।
यसैगरी बालोन डी’ओर अवार्डमा अर्जेन्टिनाका लौटारो मार्टिनेज पनि मुख्य प्रतिस्पर्धी हुन् । अर्जेन्टिनालाई लगातार दोस्रोपटक कोपा अमेरिका जिताउन निर्णायक प्रदर्शन गरेका मार्टिनेजले प्रतियोगिताभर ५ गोल गर्दै उनी प्रतियोगिताकै सर्वाधिक गोल स्कोरर बनेका थिए । सोही कारण उनले गोल्डेन बुट पनि जितेका थिए। यसैगरी गत सिजन क्लब इन्टर मिलानका लागि ‘सिरी ए’ र ‘सुपर कप’ जिताएका मार्टिनेज ‘सिरी ए’ का पनि सर्वाधिक गोल स्कोरर हुन् । उनले जारी सिजन ‘सिरी ए’ को बेस्ट प्लेयर अफ् द सिजनको अवार्ड पनि जितेका थिए । सोही कारण मार्टिनेजले पनि यो वर्षको बालोन डी’ओर जित्न सक्ने सम्भावना बढेको हो ।
यसैगरी २८ वर्षीय स्पेनिस मिडफिल्डर रोड्री, क्लब र देशका लागि उतकृष्ट प्रदर्शन गर्दै आएका छन् । यो वर्ष स्पेनले युरोकप नै जित्यो । त्यसमा रोड्रीको महत्वपूर्ण भूमिका रह्यो । चार ट्रफी– म्यान चेस्टर सिटीबाट प्रिमियर लिग, यूईएफए सुपर क्लब र क्लब विश्वकप जित्नु र फेरि स्पेनबाट युरो २०२४ जित्नु उनका लागि सबैभन्दा महत्त्वपूर्ण रह्यो । उनी इंग्ल्याण्डविरुद्ध युरो फाइनलमा आधा समय घाइते भएका थिए । तर, प्रतियोगितामा उनले गजबको प्रदर्शन गरिसकेका थिए । म्यानचेस्टर सिटीको कुनै पनि खेलाडीले क्लबमा आफ्नो कार्यकालमा बालोन डी’ओर जितेका छैनन् । रोड्रीले जितेमा यो उनी र क्लब दुवैका लागि इतिहास हुने छ ।
इंग्ल्याण्डका २१ वर्षे मिडफिल्डर बेलिंघम पनि बालोन डी’ओरका प्रतिस्पर्धी हुन् । उनले पछिल्लो सिजन बोरुसिया डर्टमुण्डबाट रियल मड्रिडमा आएपछि तहल्का पिट्दै आएका छन् । उनी युरोकप उचाल्नबाट चुके तर, व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो । रियलका लागि बेलिंघमले स्पेनिस लिग र च्याम्पियन्स लिग जितेका छन् ।
३२ वर्षीया राइट–ब्याक ड्यानी कार्भाजल बालोन डी’ओरको सूचीमा पर्नु असम्भवजस्तै थियो । तर, उनी एकै सिजनमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप फाइनलमा खेल्ने र जित्ने एक सफल खेलाडी बने । उनले च्याम्पियन्स लिगको फाइनल जितमा रियल मड्रिडका लागि पहिलो गोल गरे । युरोमा क्रोएसियाविरुद्ध समूह चरणमा स्पेनका लागि पनि गोल गरे । कार्भाजल विजेता बनेमा बालोन डी’ओर जित्ने पहिलो फुल ब्याक बन्नेछन् । यसैगरी बालोन डी’ओर अवार्डमा रुबेन डायस, अर्लिङ हाल्यान्ड, निको विलियम्स, ड्यानी ओल्मो, लामिन यमललगायतले पनि चुनौती दिने पक्का छ ।































प्रतिक्रिया