बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार बिहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो ।

बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औं मिनेटमा यार्डेन शुवाले गोल गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका शुवाले बेल्जियमका डिफेन्डर माटे स्मेट्सको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

यो जीतसँगै इजरायलले समूह ए२ मा चार अंक जोड्दै बेल्जियमसँग बराबरी गरेको छ । जीत निकाले पनि इजरायल नेसन्स लिगको शीर्ष श्रेणीबाट भने घटुवा भएको छ । सेप्टेम्बरमा भएको खेलमा बेल्जियमले इजरायललाई ३–१ ले पराजित गरेकाले हेड–टु–हेडका कारण बेल्जियम तेस्रो स्थानमा रहँदै घटुवा हुनबाट भने जोगिएको छ ।

इजरायल विरुद्धको खेलमा बेल्जियमका रोमेलु लुकाकु, अमाडु ओनाना, युरी टिलेमान्स चोटका कारण मैदान बाहिर रहे भने केभिन डि ब्रुएनलाई विश्राम दिइएको थियो । खेलको पहिलो हाफमै लिएन्ड्रो ट्रसार्ड पनि घाइते भएपछि टोली थप कमजोर देखिएको थियो ।

इजरायलले आफ्ना खेल हंगेरीको बुडापेस्टस्थित बोझसिक एरिनामा खेल्दै आएको छ । आफ्नो देशमा जारी सुरक्षा समस्याका कारण नेशन्स लिगका सबै खेल इजरायलले विदेशमै खेल्नुपरेको हो ।

Skip This
Skip This
Logo