विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएका छन् । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् ।

‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए ।

यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत हुन् ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जीतका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए ।

हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जीत हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए ।

उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउनेछन् ।

Skip This
Skip This
Logo