रंगशाला बनाउन धुर्मुस सुन्तलीले आफै चलाए डोजर (भिडियोमा)

रंगशाला बनाउन धुर्मुस सुन्तलीले आफै चलाए डोजर (भिडियोमा)


धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ ।

चितवनको भरतपुरमा सो रंगशाला निर्माण स्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष एवंम् चर्चित हास्य कलाकार सिताराम कट्टेल ( धुुर्मुुस )ले सो रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूहरु अनुभवी पनि भएकाले सो रंगशाला निर्माणमा ढिलाई नहुने पनि बताए ।

सो रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम पनि सुरु भईसकेको पनि अध्यक्ष कट्टेलले जानकारी दिए । अध्यक्ष कट्टेलले सो आयोजना इमन्दारिताका साथ निर्माण गर्ने पनि बताए । उनले धेरै स्वमयसेवक परिचालन गरेर सो रंगशाला निर्माण कार्य सम्पन्न गर्ने भएकाले त्यसको लागत ३ अरव लाग्ने अनुमान गरिएको पनि बताए ।

नेपाललाई खेलकुदको हर्वको रुपमा विकास गर्ने योजनाका साथ सो रंगशाला निर्माण कार्यमा आफूहरु जुटेको पनि फाउन्डेशनले जनाएको छ ।
कार्यक्रममा बोल्दै फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन सो रंगशाला निर्माणको कामको जिम्मा लिएको बताईन् । उनले देश र आफ्ना बाबुआमा खुशी बनाउने काम सबैभन्दा बढि खुसीको कुरा भएकाले आफूहरुले पनि देशलाई खुसी बनाउन सो रंगशाला निर्माणको काम सुरु गरिएको पनि स्पष्ट पारेकी छिन् ।

२० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सूरु गरिएको सो अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अरव अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

Logo