एनपीएलको टिकटिङ पार्टनर खल्तीद्वारा अनलाइन टिकट बिक्री खुला

एनपीएलको टिकटिङ पार्टनर खल्तीद्वारा अनलाइन टिकट बिक्री खुला

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरका रूपमा साझेदारी गरेको छ ।

एनपीएलका अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन् ।

यो लिगले देशभित्र र अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् ।

क्रिकेटप्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् । केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।

मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुँदै छ ।

क्यानका सचिव पारस खड्काले टिकटिङ पार्टनरका रूपमा खल्तीलाई पाउँदा निकै उत्साहित भएको बताए । ‘नेपाली क्रिकेटलाई विश्वसामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ।’ उनले भने ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र एनपीएलको यस नयाँ साझेदारी क्रिकेट प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एनपीएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी पनि क्रिकेट फ्यानको रूपमा अत्यन्त उत्साहित छौँ। हामी आशा गर्दछौँ सबैले बिना कुनै झन्झट, सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ । अब गुन्जिनेछ स्टेडियम, अब गुन्जिनेछ नेपाल ।”

उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ । अरू लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ । प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । सिजनल पासका लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ । सिजनल पासमा २० प्रतिशत छुट रहेको छ ।

Logo