चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स पराजित

चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स पराजित

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

सुदूरपश्चिमको यो चौथो खेलमा पहिलो हार हो । यसअघि जितमा सनसनीपूर्ण ह्याट्रिक गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । यता चितवनले भने चौथो खेलमा तेस्रो जित हात पारेको छ । सुरुवाती दुई खेलमा काठमाडौं र पोखरामाथि जित दर्ता गरेको चितवन पछिल्लो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

आज चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा १३१ रन बनाउँदा सवै विकेट गुमाएको हो । सुदूरपश्चिमका आज शिर्ष ब्याटर नै चलेनन् । जुन हारको मुख्य कारण बन्यो । इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसैगरी सेफ जैवले १८ रन, ब्राण्डनले १३ रन, दिलप्रित बाज्वाले १२ तथा नरेन साउद र विनोद भण्डारीले समान १० रन जोडे ।

यसअघि विष्फोटक ब्याटिङ गरिरहेका दीपेन्द्र सिंह ऐरी आज एक रनमै आउट भए ।

सुदूरपश्चिमलाई रोक्न बलिङतर्फ चितवनका रिजन ढकाल, कुशल मल्ल, जन निकोल लोफ्टी-इटन र अमर रौटेलाले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।

Logo