पोखरा एभेन्जर्समाथि काठमाडौंको सानदार जित, प्लेअफ सम्भावना बलियो

पोखरा एभेन्जर्समाथि काठमाडौंको सानदार जित, प्लेअफ सम्भावना बलियो

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि सानदार जित हात पारेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा पोखरामाथि काठमाडौले ६ विकेटको जित दर्ता गरेको हो ।

पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले मात्र १४.१ ओभरमा ४ विकेट गुमाएर भेट्यायो । काठमाडौंका लागि ओपनर स्टेफेन स्किनाजीले ३४ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६० रनकाे याेगदान गरे । यसैगरी अर्का ओपनर माइकल लेभिटले १८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे भने भीम सार्की २० बलमा २२ रन जोड्दै आउट भए । जेहार्ड एरास्मस १० बलमा २५ रनमा नट आउट रहे ।

बलिङतर्फ पोखराका लागि विपिन खत्रीले ३ तथा माइकल लिस्कले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । यस्तै, दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । उसका लागि गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे । पोखराले अतिरिक्त ११ रन प्राप्त गर्यो ।

काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए ।

यो जितले करण केसीको कप्तानीमा रहेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । काठमाडौंको ६ खेलमा ३ मा जित र ३ हारसहित ६ अंक नै भएको छ । अब काठमाडौंले आइतबार हुने आफ्नो अन्तिम खेल जितेमा प्लेअफ पुग्न सक्छ । काठमाडौंले अन्तिम खेलमा विराटनगर किंग्सको सामना गर्नेछ ।

तर, यता पराजित कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराको भने प्लेअफ होड कठिन बनेको छ । उसको ६ खेलमा २ मा जित र ४ मा हार व्यहोरेको छ । अब उसलाई अन्तिम खेल जित्नैपर्ने हुन्छ । किनकी चितवन राइनोज र काठमाडौ‌सँग ६ अंक भइसकेको अवस्था छ । उनीहरुको एक खेल बाँकी पनि छ, त्यसकारण पोखरालाई अब अरुको जितमा पनि भर पर्नुपर्ने हुन्छ । पोखराको अन्तिम खेल आइतवार सुदूरपश्चिम रोयल्ससँग छ ।

Logo