चितवन एनपीएलबाट बाहिरियो, कर्णाली दोस्रो क्वालिफायरमा

चितवन एनपीएलबाट बाहिरियो, कर्णाली दोस्रो क्वालिफायरमा

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा चितवनलाई २१ रनले स्तब्ध बनाउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । यो हारसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ । चितवन त्यो टोली हो, जसले शीर्ष २ मा रहेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो ।

अब कर्णालीले आजै हुने जनकपुर र सुदूरपश्चिमबीच हुनेको पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नुपर्नेछ । विजेता टोली भने सिधै फाइनल प्रवेश गर्नेछ ।

कर्णालीले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो । चितवनका लागि रवि वोपराले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङको योगदान गर्नुबाहेक अन्य कसैले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर हसन इसाखिल एक रनमै आउट हुँदा धर्मराएको चितवनको ब्याटिङ लाइनले राम्रो साथ पाउन सकेन । कप्तान कुशल मल्लले २१ रन बनाउँदा बिपिन रावलले १८ रन, लुक बेन्केनस्टाइनले १६ रन तथा शरद भेष्वावकर १० रनमा अविजित रहे ।

बलिङतर्फ कर्णालीका जिशन मक्सुदले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक विकेट लिएका थिए ।

Skip This
Skip This
Logo