कसले जित्ला एनपीएलको ओमोडा कार ? फाइनल खेलअघिसम्म यी हुन् मुख्य दाबेदार खेलाडी NPL[भिडियाेसहित]

कसले जित्ला एनपीएलको ओमोडा कार ? फाइनल खेलअघिसम्म यी हुन् मुख्य दाबेदार खेलाडी NPL[भिडियाेसहित]

केन्द्रबिन्दु
81
Shares

काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)ले शनिबार पहिलो विजेता पाउँदै छ। शनिबार दिउँसो सवा १२ बजे टियूू क्रिकेट मैदानमा हुने फाइनल खेलमा एनपिएलले जनकपुर बोल्ट्ड र सूदुरपश्चिम रोयल्समध्ये एकलाई विजेताको रुपमा पाउने भएको हो। सुदूरपश्चिम र जनकपुर फाइनमा पुगेपछि अब उपाधि कसले जित्ला भन्ने अनुमान पनि गर्न थालिसकेको छ। कोहीले सुदूरपश्चिमले सहजै जित्छ भनिरहेका छन् भने कोहीले जनकपुरले तेस्रो भेटमा पक्कै बदला लिएर उपाधि आत्मसाथ गर्छ भनिरहेका छन्।

नेपाल क्रिकेट एसोसिएसन(क्यान)ले एनपीएल विजेता टोलीलाई अहिलेसम्मकै सर्वाधिक बढी अर्थात १ करोड १० लाख पुरस्कार राशी दिने पक्का भइसकेको छ । यसैगरी उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउने क्यानले बताई सकेको छ । त्यसबाहेक प्रतियोगिताभर उत्कृष्ट खेल्ने नेपाली खेलाडीलाई ओमोडाको कार पुरस्कार दिने प्रतियोगिता सुरु हुनुअघि नै घोषणा गरिएको थियो । सोही पुरस्कार अब प्रतियोगिताको अन्त्य आइसक्दा कसले जित्ला पाउला भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।

हालसम्मको प्रदर्शन र तथ्यांङलाई हेर्दा लुम्बिनी लायन्सका मार्की तथा कप्तान रोहित पौडेल, सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरी र जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशी मध्ये एकले चढ्ने उच्च सम्भावना देखिएको छ । लिग र प्लेअफका सबै खेल सम्पन्न भई सक्दा चर्चामा रहेका यिनै खेलाडी कारको दाबेदारको रुपमा हेरिएको छ । लिग चरणमा रोहितले सर्वाधिक रन बनाएका थिए तर उनको टिम लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरियो। लुम्बिनीले हारिरहँदा पनि कप्तान रोहितले ब्याट र बलबाट टोलीलाई दिनसक्ने सबै प्रकारका योगदान दिएका थिए। अझै पनि रोहित नेपाली खेलाडीमध्ये धेरै रन बनाउनेमा अग्रस्थानमा रहेका छन् । यसबाहेक सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बल र ब्याटबाट मात्र नभई मैदानमा नेतृत्व गर्नेदेखि फिल्डिङमा पनि सर्वोत्कृष्ट प्रदर्शन गरेर आफ्नो टोलीलाई सर्वाधिक अंकसहित सर्वप्रथम फाइनलमा पुर्याएका छन्। अर्कोतर्फ जनकपुरलाई फाइनलसम्मको यात्रामा कसिलो बलिङका साथ दोर्होयाएका स्पिनर ललित राजवंशीले नेपाली खेलाडीमध्ये सर्वाधिक १६ विकेट लिएका छन्।

अहिलेसम्म कस्तो छ दीपेन्द्र, रोहित र ललितको प्रदर्शन ?

दीपेन्द्रसिंह ऐरी
सुदूरपश्चिम रोयल्सका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलमा कार जित्न सक्ने सबैभन्दा मुख्य दाबेदार हुन्। एनपीएलमा व्यक्तिगत रूपमा पनि उच्च प्रदर्शन गरिरहेका ऐरीले विस्फोटक ब्याटिङ र स्पिन बलिङका कारण मात्रै होइन, फिल्डिङका कारण पनि उत्तिकै चर्चित छन्। अलराउन्डर प्रदर्शनकै कारण दिपेन्द्र हाल विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका छन्। अहिलेसम्म नेपाली क्रिकेटरले विश्व वरीयतामा लिएको यो नै सबैभन्दा उच्च स्थान पनि हो। फिल्डिङमा हुँदा रनआउट गर्नु र ब्याटिङमा रहँदा दौडिएर धेरै रन बनाउनु उनको खुबी नै हो। जारी एनपीएलमा दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन्। दीपेन्द्रले ८ खेलमा २१८ रन बनाएका छन्। पहिलो खेलमा विराटनगरविरुद्ध नटआउट ५७ रन बनाएका दीपेन्द्रले दोस्रो र तेस्रो खेलमा पनि उच्च प्रदर्शन कायम राख्दै टोलीलाई लगातार जित दिलाए। चौथो खेलमा आएर उनको ब्याट चलेन, बलिङ पनि राम्रो हुन सकेन। चितवनविरुद्ध उनी एक रनमै आउट भए भने एक विकेट मात्रै लिएर ३२ रन खर्चिए। जुन खेलमा उनको टोली सुदूरपश्चिम पराजित भयो। तर उनको टोलीका लागि यो नै अहिलेसम्मको एक मात्रै खराब नतिजा हो।

जनकपुरविरुद्ध पनि उनले रन बनाउन सकेनन् तर त्यो खेलमा २ विकेट लिन सफल भए। पोखराविरुद्धको खेलमा २० रन बनाएका दीपेन्द्रले त्यसपछिका दुवै खेलमा अलराउन्ड प्रदर्शन गरेका छन्। लिग चरणको अन्तिम खेलमा ३८ रन बनाउँदा २ विकेट लिएका थिए। सोमबार जनकपुरमाथि जित निकाल्दै टोली फाइनलमा पुग्दा उनले नटआउट २० रन बनाए भने ३ विकेट पनि लिए। जारी एनपीएलमा दोस्रो पटक प्लेयर अफ द म्याच हुने एक मात्रै नेपाली खेलाडी पनि दीपेन्द्र हुन्। उनीभन्दा अगाडि चितवनका कप्तान कुशल मल्ल र लुम्बिनीका कप्तान रोहित पौडेल मात्रै छन्। रोहितले २७९ रन र कुशलले २२३ रन प्रहार गरेका छन्। तर दीपेन्द्रले अझै फाइनल खेल्न बाँकी रहेकाले उनको रन थपिने सम्भावना छ । कुशल र रोहितका टोली भने आउट भइसकेका छन्।

ललित राजवंशी
ललितको मुख्य काम विकेट लिने, विपक्षीलाई कम स्कोरमा रोक्न सहयोग गर्ने र टिमलाई जिताउने हो । उनी सुरूवातदेखि नै जनकपुरको मुख्य विकेट–टेकरको रुपमा रहेका छन् ।स्पिनमा ललित र मिडियम पेसमा किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई सुरूवाती चार खेलमा लगातार जित दिलाउन सहयोग गरे। ललितलाई मोहम्मद मोहसिन र हर्श थाकरले पनि स्पिनमा सहयोग गरेका थिए ।

ललितले जारी प्रतियोगितामा एक खेलबाहेक सबैमा विकेट लिएका छन्। चाहिएका घातक बलिङ गर्दै विकेट लिने ललितले एनपीएलमा स्पिनरमध्ये सबैभन्दा धेरै विकेट लिनेमा अग्र स्थानमा छन् । ललितले फाइनलअघिसम्म १६ विकेट लिई सकेका छन् । यस्तैमा ललितले पनि कार जित्ने प्रवल सम्भावना उत्तिकैछ । लिगमा विराटनगर, पोखरा र काठमान्डु विरुद्ध ३–३ विकेट लिएका ललितले चितवनसँग र क्वालिफायर–२ मा कर्णालीसँग समान २–२ विकेट लिए। यस्तै लिग चरणमा कर्णाली र लुम्बिनीसहित क्वालिफायर वानमा सुदूरपश्चिमविरुद्ध समान १–१ विकेट लिएका थिए । जारी प्रतियोगितामा ललितले काठमान्डु गोर्खाजविरुद्ध ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिनु नै उनको सर्वोत्कृष्ट प्रदर्शन हो।

रोहित पौडेल
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएलकै सर्वोत्कृष्ट नेपाली ब्याटर हुन्। रोहितले एनपीएलको ७ खेलमा २७९ रन बनाएर सबैलाई पछि पारेका छन्। तर रोहितको सानदार ब्याटिङ पनि लुम्बिनीको बहिर्गमनलाई रोक्न पर्याप्त रहेन। प्रतियोगिताभर दुई अर्धशतक समेत बनाएका रोहितले चितवनविरुद्ध एकै खेलमा अर्धशतक र ४ विकेट लिएर प्लेअर अफ दि म्याच समेत बनेका थिए। यस्तै रोहितले पोखराविरुद्ध सर्वाधिक ९५ रन बनाउनुका साथैं चितवनविरुद्ध पनि ८० रन बनाएका छन्। यस्तै चितवनविरुद्धको जितमा रोहितलले ४ विकेट समेत लिन सफल भएका थिए।

यसका साथैं विराटनगरविरुद्ध ४६, जनकपुर विरुद्ध ३५ रन बनाएका रोहितले कर्णाली र सुदूरपश्चिम विरुद्ध ८–८ बनाएका छन् । ७ मध्ये ६ खेलमा बलिङ गरेका रोहितले ४ खेलमा ८ विकेट लिन पनि सफल भएका छन् । समग्रमा रोहितको उच्च प्रदर्शन भए पनि अन्य खेलाडीले योजना अनुरूप प्रदर्शन गर्न असफल रहे। तर एनपीएलको उत्कृष्ट खेलाडी छनोट गर्दा व्यक्तिगत प्रदर्शन नै हेरिने हो। यदि रोहितले लिग चरणमा गरेको प्रदर्शनलाई आधार मान्ने हो भने दिपेन्द्र र ललितलाई कार जित्नेमा पछि पार्नेछन्। फाइनल अघिसम्मको तथ्यांङ हेर्ने हो भने नेपाली खेलाडीहरुमा रोहितले बनाएको जति रन अब बाँकी कुनै पनि ब्याटरले बनाउन सक्ने सम्भावना लगभग न्यून छ । त्यसैले रोहित पनि सर्वोत्कृष्ट नेपाली खेलाडीलाई दिइने कारका लागि दिपेन्द्र र ललित जतिकै हकदार छन्।

Logo