मकवानपुर । छैटौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताएका छन् । यसअघि खेलकुद क्षेत्र नबुझेकाहरु मन्त्री बन्दा बजेट प्राथमिकतामा नपरेको र अहिले आफूलाई काम गर्न गाह्रो भएको उनको भनाइ छ । उनले अबको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताए ।
बकैया–३ स्थित बकैया रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा भएको छ । बुधबार दुई टिमले निर्धारित खेल समयको पहिलो हाफ खेलेका छन् । दुई टिमबीचको बाँकी खेल समय अभावका कारणले बिहीबार बिहान १० बजे निर्धारण भएको छ । जसमा वडा नम्बर ३, १–० गोलले अघि छ । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा दिउँसो १ बजे वडा नम्बर ४ र १० बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, जुनियरतर्फ पौष २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।































प्रतिक्रिया