हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङ्गशालामा हुने आयोजकले जनाएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।
प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताए । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैयाँसहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताए।
फुटबल खेलको प्रवद्धनका लागि लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
अध्यक्ष घलानले व्यावसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पारे । यसअघिको छैटौं संस्करणको उपाधि मछेन्द्र युथ क्लव काठमाडौंले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।































प्रतिक्रिया