विश्वकप क्रिकेटमा नेपालको पहिलो हार

विश्वकप क्रिकेटमा नेपालको पहिलो हार

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार व्यहारेको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध ५ विकेटले स्तब्ध भएको हो । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

बङ्गलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन जोडिन् । यसैगरी कप्तान सुमैया अक्तरले १२ रन बनाउँदा असिमा इरा ९ रनमा नटआउट रहिन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महतो, रिया शर्मा, सिमाना केसी र रचना चौधरीले समान एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुरुवात नै खराब गरेको नेपालका लागि कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनमा नै धेरै आशा थियो तर, त्यसो नहुँदा जित नेपालको हातबाट फुत्कियो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।

सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो । गत वर्षको नोभेम्बरमा युएईमा विश्व कपका लागि भएको एसियाली छनोटमा नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्व कपमा स्थान बनाएको थियो ।

नेपालले अब दोस्रो खेलमा जनवरी २० मा स्कटल्यान्डसँग खेल्नेछ । यसै समूहमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा शनिबार नै स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

Skip This
Skip This
Logo