काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाविरुद्ध नेपाल संकटमा परेको छ ।
मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमाअष्ट्रेलियाले दिएको एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६ ओभरको समाप्तिमा मात्र ४६ रन जोडेर ४ विकेट गुमाइसको छ । क्रिजमा कप्तान पूजा महतो छिन् । तर, अन्यले साथ नदिँदा नेपाल हारतर्फ उन्मुख छ ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियाे ।
अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।
बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् ।
अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।





























प्रतिक्रिया