महेन्द्रनगर । भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हजारौ स्थानीय सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएका छन् । मार्चमा हजारौ स्थानीय सहभागी भएका छन् ।
म्याराथन धावक मानन्धर प्रतिस्पर्धीसंगै दौडमा समेत सहभागी भए । खुला मञ्चबाट हाफ म्याराथन (२१ किलोमिटर) तथा र बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुरबाट छात्र छात्र र महिला खुला दौड प्रतियोगिता सुरु गरिएको हो । ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिरमा भव्य कार्यक्रम गरी म्याराथन मार्च समापन गरिएको छ ।
हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोस विष्ट प्रथम भएका छन् । भीमदत्त नगरपालिका १ भाँसीका विष्ट सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । घर विदामा आएका विष्टले नगद ३० हजारसहित प्रमाण पत्र हात पारेका छन् । उनले एक घण्टा ११ मिनेटमा सो दुरी पार गरेका हुन् । जितेन्द्र दंगाल र मोहन जोशीले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले २० हजार र १० हजार नगदसहित प्रमाण पाए ।
खुला मञ्चबाट सुरु हाफ म्याराथनमा ब्रह्मदेब बजारसम्मको दूरी पार गरिएको छ । हाफ म्याराथनका विजेता विष्टले प्रतियोगितामा सहभागी भएर प्रथम भएकोमा खुसी भएको बताए ।
त्यस्तै महिला खुला (१० किलोमिटर) दौडमा पुष्पा पाण्डेय प्रथम भएकी छन् । फुटलब खेलाडी पाण्डेयले नगद १५ हजारसहित र प्रमाण हात पारिन् । उनी बेदकोट नगरपालिकाकी हुन् । यसैगरी २५ नम्बर बाहिनीका लक्ष्मी सुतारा द्वितीय र खैरभट्टीकी पूजा ओड तृतीय भईन् । उनीहरुलाई नगद क्रमशः १० हजार र ७ हजार पुरस्कारसहित प्रमाण पत्र पाए ।
छात्रा छात्र दौड प्रतियोगितामा छात्रातर्फ लक्ष्मी मावि बागफाँटाकी लक्ष्मी बम प्रथम, सिद्धनाथ अमर मावि गड्डाचौकीकी रेखा चन्द द्वितीय र पूर्णा मावि ऐरीकी ममता भट्ट तृतीय भएकी छन् । छात्र दौडमा पूर्णा मावि ऐरीका विवेक सुनार, डायमण्ड पब्लिक एकेडेमीका सञ्जिव नेपाली र बैजनाथ माविका लक्ष्मण भण्डारी तृतीय भएका छन् ।
छात्र छात्रा दौडका विजेताहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको छ । छात्र छात्राको ५ किलोमिटर र खुला महिला १० किलोमिटर दौड दुरी राखिएको छ ।
सिद्धनाथ मन्दिरमा गरिएको समापन कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि पूर्व मन्त्री संघीय सरकारका साँसद घनश्याम भुसाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट, म्थाराथन धावक बैकुण्ठ मानन्धर, भीमदत्तका नगर उप प्रमुख सुशिला चन्द सिह लगायतले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रमाण पत्र प्रदान गरे ।
प्रतियोगितामा सबैभन्दा बढी हाफ म्याराथन खुल्लामा ७ सय १३ जनाले प्रतिस्पर्धा गरेका छन् । यसैगरी १ सय ९७ छात्रा र २ सय ६९ छात्रले भाग लिएका छन् । खुला महिलामा १ सय ६९ जनाले प्रतिस्पर्धा गरेका छन् ।































प्रतिक्रिया