काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले स्तब्ध भएको हो ।
नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रनमै समेटियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन जोडिन् । यसैगरी सम्झना खड्काले २३ रन बनाउँदा पूजा महतो १८ रनमा समेटिइन् । कविता जोशीले १४ रन तथा सिता रानामगर १० रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो । उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१/२१ रन जोडे ।
बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट लिए ।
नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।





























प्रतिक्रिया