यूएई लिगः दीपेन्द्र लगातार दोस्रो सिजन ‘खाली हात’, कुशलको आशामा पनि तुषारापात !

यूएई लिगः दीपेन्द्र लगातार दोस्रो सिजन ‘खाली हात’, कुशलको आशामा पनि तुषारापात !

केन्द्रबिन्दु
270
Shares

काठमाडौं । नेपाली क्रिकेटका स्टार दीपेन्द्रसिंह ऐरी, आइसीसीको टि२० अलराउन्डर वरियतामा दोस्रो स्थानमा छन् । या भनौं टि२० अलराउन्डरमा उनी भारतका हार्दिक पाण्ड्यापछि उनी नै विश्वका उत्कृष्ट अलराउन्डर हुन् । उनी गेम चेञ्चर हुन्, जस्तोसुकै अवस्थामा टोलीलाई जिताउने ताकत राख्छन् । टि२० क्रिकेटमा उनले ९ बलमै हानेको अर्धशतकको दूर्लभ रेकर्ड विश्व क्रिकेटका हस्तीहरुले तोड्न सकेका छैनन् ।

तर, तीनै प्रतिभावान् दीपेन्द्रले यूएईमा जारी टि-२० फ्रेन्चाइज लिग इन्टरनेसनल लिग टि-२० मा भने एक खेल पनि खेल्न नपाई प्रतियोगिताको अन्त्य गरेका छन् । उनको यो पहिलोप टकको युएई यात्रा पनि होइन, दीपेन्द्र गल्फ जायन्ट्सबाट दोस्रोपटक यो लिग खेल्न त्यसतर्फ उडेका थिए । अघिल्लो वर्ष त्यही क्लबमा अनुबन्ध भएका उनले यो पटक पनि निरन्तरताको मौका पाए । तर, मैदानमा आफ्नो क्षमता देखाउन भने पाएनन् । अझ भनौं, प्रतियोगिताको लिग चरणमा गल्फले १० खेल खेल्दा पनि उनले ब्याट र बल छुन पाएनन् । उनको भूमिका पानी बोक्नमै सीमित रह्यो ।

अहिले दीपेन्द्रको गल्फ जाइन्ट्स लिग चरणबाटै बाहिरिसकेको छ । गल्फ जाइन्ट्स १० खेलमा ६ हार व्यहोर्दै पुछारबाट दोस्रो स्थानमा रह्यो । योसँगै अघिल्लो वर्ष पनि अवसर नपाएका दिपेन्द्र यो वर्ष पनि एउटै म्याच नखेलिकन फर्किने भएका हुन् । यसले दीपेन्द्रलाई हतोत्साही तुल्याएको त छँदैछ उनका समर्थक पनि निराश भएका छन् ।

रोचक कुरा त के हो भने, दीपेन्द्रको टोलीमा त्यति हाइप्रोफाइल खेलाडी पनि छैनन्, जसले उनलाई सजिलै विस्थापित गरोस् । ईंग्ल्यान्डका ब्याटर जेम्स भिन्सले कप्तानी गरेको यो टीममा २६ जना खेलाडी छन् । दीपेन्द्रकै स्तरमा खेल्ने खेलाडीले धमाधम अवसर पाउँदा उनी भने बेञ्च तताउनमै व्यस्त रहे । कुनै क्रिकेटरका लागि अन्तर्राष्ट्रिय लिग खेल्न पाउनु ठूलो अवसर हो । यसले मैदानमा प्रदर्शन गर्दा होस् यो ड्रेसिङ रुममा, विश्वस्तरमा के कस्ता रणनीति अपनाइन्छ सिक्ने मौका पाइन्छ । अझ नेपाल जस्तो एशोसिएट मुलुकका लागि त यो ठूलो अवसर हो । तर, दिपेन्द्रलाई लगातार दोस्रो सिजनमा खेलविहिन बनाउँदा उनका समर्थकले आक्रोश पोखिरहेका छन् ।

दिपेन्द्र मात्र होइनन्, अर्का नेपाली क्रिकेटका स्टार कुशल मल्लले पनि युएईमा यो हविगत भोग्नुपरेको छ । पहिलोपटक आईएल टि-ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्धित छन् । उनको टोलीले पनि लिग चरणमा १० खेल खेलिसकेको छ र अंकतालिकाको शीर्षस्थानमा रहँदै क्वालिफायरमा उक्लिएको छ । तर, कुशलले एक खेलमा पनि अवसर पाएका छैनन् ।

डच अलराउन्डर बास डे लिड घाइते भएपछि उनको विकल्पमा भाइपर्सले कुशललाई खरिद गरेको थियो । टिमले उत्कृष्ट प्रदर्शन गरिरहँदा कुशल भने बेञ्चमै बसेर हेर्न बाध्य भएका छन् । न्यूजिल्यान्डका लक्की फर्गुसनले कप्तानी गरेको भाइपर्सको स्क्वाडमा २१ जना खेलाडीहरु छन्, जसमा कुशल मात्र एक खेलाडी हुन् जसले क्षमताको परीक्षण गर्नै पाएका छैनन् ।

बुधबार हुने पहिलो क्वालिफायरमा डेजर्ट भाइपर्स र दुबइ क्यापिटल भिड्नेछन् । त्यसमा पनि उनले अवसर पाउने समभावना एकदमै न्यून देखिन्छ । किनकी यसमा विजयी भएमा भाइपर्स फाइनलमा पुग्ने छ भने पराजित भएमा दोस्रो क्वालिफायर खेल्नुपर्छ । उ सिधैं फाइनलमा पुग्ने अवसर खोज्दा पहिला कै खेलाडीलाई निरन्तरता दिन चाहन्छ । यसले नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय लिग खेल्ने उत्साहलाई उपेक्षा गर्ने देखिन्छ ।

Logo