नेपाल घरेलु टी–ट्वान्टी श्रृङ्खलामा जितविहीन, थाइल्याण्ड बन्यो च्याम्पियन

नेपाल घरेलु टी–ट्वान्टी श्रृङ्खलामा जितविहीन, थाइल्याण्ड बन्यो च्याम्पियन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । घरेलु टोली नेपालले जितविहीन रहँदै महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्त्य गरेको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा पनि नेपाल थाइल्याण्डसँग ७ विकेटले स्तब्ध भएको हो ।

यो ऐतिहासिक श्रृङ्खलामा नेपालले लगातार छैठौं हार व्यहोरेको हो । नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पनि पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।

यता थाइल्याण्ड भने श्रृङ्खलाको च्याम्पियन बनेको छ । थाइल्याण्ड ६ खेलमा पाँचमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रह्यो । यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

अन्तिम खेलमा आज नेपालले जितका लागि दिएको ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । थाइल्याण्डका लागि नारुएमोल चाइवाईले सर्वाधिक २७ रनको योगदान गरिन् । ३४ बल खेलेकी उनले २ चौका पनि प्रहार गरेकी थिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।

Logo