विश्वविजेता गोलकिपर बुफोन नेपाल आउँदै, केपी ओली कपको फाइनलमा सहभागी हुने

विश्वविजेता गोलकिपर बुफोन नेपाल आउँदै, केपी ओली कपको फाइनलमा सहभागी हुने

केन्द्रबिन्दु
303
Shares

काठमाडाैं । विश्वकप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् ।

केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

केपी ओली कपको फागुन‌ १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका‌‌ लागि‌ सम्झौता भइसकेको थेवेले जानकारी दिए ।

त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको थेवेले जानकारी दिए। कार्लोस सुरुमा आउनका‌ लागि तयार भएपनि‌ पछि समय नमिलेका कारण रद्द भएको उनले बताए । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो ।

बुफोनको नेपाल बसाइ एक साताको हुनेछ । उनले माउन्टेन फ्लाइटमार्फत सगरमाथा हिमालको अवलोकन गर्नुका साथै समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गर्ने बताइएको छ ।

सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेलेका थिए। उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए।

फागुन ११ गते आइतबारदेखि सुरु हुने केपी ओली कप च्याम्पियनसिपमा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

Logo