च्याम्पियन्स ट्रफीमा भारतको ह्याट्रिक गर्ने सपनामा तगारो बन्ला त न्युजिल्यान्ड ? यस्तो छ हेड टु हेड

च्याम्पियन्स ट्रफीमा भारतको ह्याट्रिक गर्ने सपनामा तगारो बन्ला त न्युजिल्यान्ड ? यस्तो छ हेड टु हेड

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । आज पाकिस्तान र यूएईद्धारा संयुक्त रुपमा आयोजित च्याम्पियन्स ट्रफीको उपाधिका लागि २ पटकको च्याम्पियन भारत र एक पटकको च्याम्पियन न्यूजिल्याण्ड दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा २५ हजार दर्शकअघि आमनेसामने हुँदैछन् ।

नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने उक्त खेलको उपाधि दाबेदार भारतलाई हेरिएको छ । तर न्युजिल्यान्डले पनि पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकालाई हराएर फाइनलमा प्रवेश गरेकाले न्युजिल्यान्डलाई कम आँक्न सकिँदैन । अर्कोतर्फ उपाधिको दाबेदार भारत न्युजिल्यान्डविरुद्ध समूहचरणकै नतिजा दोहोर्याउँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यका डेढ अर्ब भारतीयलाई खुसी पार्ने लक्ष्यका साथ दुबईको मैदानमा उत्रनेछ ।

समूह चरणमै न्युजिल्यान्डलाई ४४ रनले हराएको भारतका लागि आज दुबईको पिच निकै सुहाउने देखिन्छ । भारत सुरक्षाको कारण देखाउँदै पाकिस्तान नगएपछि युएई सहआयोजक बनेको हो । भारत मात्र एक टोली हो, जुन पाकिस्तानको भ्रमण नै नगरी फाइनलमा प्रवेश गरेको छ । त्यसकारण पनि भारत अन्य टोलीभन्दा दुबईको पिचसँग परिचित देखिन्छ । प्रतियोगिताको ४ वटै खेल सोही मैदानमा खेल्दै सबैमा जित हात पारेको सुखद अनुभव भएका कारण फाइनल खेलमा पनि सोही नतिजा दोहोर्याउनेमा भारत ढुक्क छ ।

तर अर्कोतर्फ न्युजिल्यान्र्ड भने समूहचरणको हारको बदला लिँदै २५ वर्षपछि दोस्रो च्याम्पियन्स ट्रफीको उपाधि हात पार्न चाहन्छ । तर त्यसका लागि न्युजिल्यान्डलाई भारतिय दिंगज ब्याट्सम्यान विराट कोहली, रोहित शर्मा र हार्दिक पाण्डयालगायतलाई सस्तैमा आउट गर्दै वा मोहम्द शामी, बरुण चक्रवर्टी र अक्षय पटेलको धारिलो बलिङलाई चिर्दै उच्च स्कोरर बनाउनुपर्ने दबाब छ ।

अर्कोतर्फ न्युजिल्यान्डको ब्याटिङमा प्रमुख हतियार रचिन रवीन्द्र हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध सेमिफाइनलमा १०८ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनकै प्रेरणामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध ३६२ रनको कीर्तिमानी इनिङ खडा गरेको हो। यस क्रममा न्युजिल्यान्डका भेट्रान ब्याट्सम्यान केन विलियम्सनसँग रवीन्द्रले १६४ रनको साझेदारी पनि गरेका थिए। बलिङ पनि गर्न सक्ने रचिनले तीन खेलमा नै २२६ रन जोडेका छन्। त्यसैले भारतका लागि उनी चुनौती बन्न सक्नेछन् ।

यता केही समयअघि मात्रै दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकप विजेता बनेको भारतले एक वर्षको अन्तरालमै दोस्रो ठुलो उपाधि जित्नको लागि न्युजिल्यान्डलाई प्रतिद्धन्द्धी पाउँदा भारतलाई सन् २००० अर्थात २५ वर्षअघिको बदला लिने सुनौलो अवसर हुनेछ । किनकी २५ वर्षअघि न्युजिल्यान्डले भारतलाई नै ४ विकेटले हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो ।

उक्त समय सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतिय टोलीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २६४ रन बनाएको थियो। उक्त फाइनलमा गांगुली एक्लैले ११७ रनको योगदान दिए भने उनका ओपनिङ पार्टनर सचिन तेन्दुलकरले ६९ रन बनाएका थिए। २६५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको न्युजिल्याण्डले सुरुवाती केही विकेट गुमाएता पनि क्रिस केन्र्सले शानदार शतक प्रहार गर्दै न्युजिल्याण्डलाई चार विकेट बाँकी छँदै च्याम्पियन बनाएका थिए ।

यसैगरी सन् २००२ मा श्रीलंकासँग संयुक्त विजेता बनेको भारतले सन् २०१३ मा इङ्ल्याण्डलाई ५ रनले हराउँदै च्याम्पियन बनेको थियो । अर्कोतर्फ एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डविरुद्ध भारतको हेड टू हेड रेकर्ड पनि निकै उत्कृष्ट रहेको छ। भारत र न्युजिल्याण्डले अहिलेसम्म एकअर्काविरुद्ध ११९ एकदिवसीय खेल खेलेका छन् । जसमध्ये ६१ खेल भारतले जितेको छ भने ५० खेल न्युजिल्याण्डले जितेको छ । यस्तै १ खेल बराबरीमा टुङ्गिदा सात खेल भने नतिजाविहिन टुंगिएका छन्।

यस्तै च्याम्पियन्स ट्रफीमा भने भारत र न्यूजिल्याण्डले अहिलेसम्म २ पटक मात्र एकअर्काविरुद्ध खेलेका छन् । जहाँ सन् २००० को फाइनल न्यूजिल्याण्डले जित्दा जारी प्रतियोगिताको समूह चरणको खेलमा भारतले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो ।

यसका साथैं च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्दा भारतका स्टार खेलाडी विराट कोहली र रोहित शर्माका लागि अन्तिम अवसर पनि हुन सक्नेछ । ३६ वर्षे विराट र ३७ वर्षे कप्तान रोहित टेस्ट क्रिकेटमा खराब प्रदर्शनका कारण ५० ओभरको च्याम्पियन्स ट्रफीअगाडि नै कहिले संन्यास लिन्छन् भन्ने निकै चर्चा चलेको थियो। सोही कारण च्याम्पियन्स ट्रफी नै विराट र रोहितका लागि ५० ओभरको खेलबाट पनि सन्यास लिने राम्रो अवसरका रुपमा हेरिएको छ । करिब १५ वर्षभन्दा बढी भारतीय टोलीमा महत्वपूर्ण सदस्यका रुपमा रहँदै आएका यी दुई स्टारले गत वर्ष विश्वकप जितेपछि टी–२० क्रिकेटबाट संन्यास लिएका थिए ।

फाइनल खेलका दौरान कस्तो रहला मौसम ?

फाइनल खेलमा पानी पर्यो भने के हुन्छ ? समूह चरणमा जस्तै फाइनल खेलको दिनमा पनि रिजर्भ डे हुन्छ त ? जारी प्रतियोगिताका अधिकांश धेरै खेलहरू वर्षाका कारण अवरुद्ध भएका थिए । तर ती अधिकांश खेलहरू पाकिस्तानमा खेलाइएएका थिए। त्यो बाहेक दुबईमा खेलाइएका खेलका दौरान पानी नपरेका कारण रद्ध भएनन् । तर पानी पर्यो वा अन्य कुनै कारणवश खेल निर्धारित दिनमा खेल्न नसकिएमा, आईसीसीले फाइनलको लागि रिजर्भ डे राखेको छ। यदि कुनै कारणवश खेल हुन सकेन भने सोमबार रिजर्भ डेमा खेल खेलाइनेछ।

यस बाहेक पनि आईसीसीले फाइनल खेलका लागि अन्य खेल भन्दा दुई घण्टा बढी समय सीमा तोकेको छ । यसको अर्थ बाँकी खेलहरू जुन समय भित्र सम्पन्न नभएमा रद्द घोषित गरिन्थ्यो, फाइनललाई त्यो भन्दा दुई घण्टा बढी दिइनेछ ताकि खेल सोही दिन सम्पन्न गर्न सकियोस्।

यसका साथैं आईसीसीले फाइनलमा ओभर सम्बन्धी नियमहरू पनि परिवर्तन गरेको छ। बाँकी खेलहरूमा, डकवर्थ लुइस नियम अनुसार खेलको निर्णय गर्न प्रति इनिङ कम्तीमा २० ओभर खेलाउनु पर्ने थियो। तर फाइनलको लागि ओभरको संख्या प्रति इनिङ २५ ओभर पुर्याइएको छ।

यदि खेल निर्धारित दिनअघि रोकियो र सम्पन्न भएन भने, भोलिपल्टको खेल पहिलो दिन जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ।

Skip This
Skip This
Logo