काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले पहिलो हार व्यहोरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बेङ्गलुरु गुजरात टाइटन्ससँग ८ विकेटले स्तब्ध भएको हो ।
बेङ्गलुरुले जितका लागि दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्न सफल भयो । गुजरातका लागि जोस बटलरले अविजित ७३ रन जोडे । ३९ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । यसैगरी सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन जोडे। त्यसअघि ओपनर साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके । उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन जोडे।
बलिङमा बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्रै जोड्न सक्यो ।
बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन जोडे । विराट कोहली ७ रनमै सिमित रहँदा जितेस शर्माले ३३ रन तथा टिम डेभिडले १८ बलमा ३२ रन जोडे ।
बलिङमा गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । हालै बेङ्गलुरु छाडेर गुजरात पुगेका उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए।
यसअघि गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने दोस्रोमा मुम्बई इन्डियन्सलाई हराएको थियो । यता बेङ्गलुरुले यसअघि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सलाई हराएको थियो ।































प्रतिक्रिया