नेपालले हङकङलाई ९ विकेटले हरायो, अब निर्णायक खेल अफगानिस्तानसँग

नेपालले हङकङलाई ९ विकेटले हरायो, अब निर्णायक खेल अफगानिस्तानसँग

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । घरेलु टोली नेपालले आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ । आज तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले स्तब्ध पारेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.३ ओभरमा मात्र एक विकेटको क्षति पूरा गरेको हो । नेपालका लागि ओपनर साहिल पटेलले ४१ बलमा ४२ रन जोडे भने नरेश भट्टले २३ बलमै ३९ रन जोडे । उनीहरु दुवैजना अविजित रहे । त्यसअघि अर्का ओपनर निरजकुमार यादवले २३ रन जोडेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । माथुरले १ सय १६ बलमा ६३ रन जोडे ।

यसैगरी अर्या पञ्जवानीले १३ रन तथा वीर माथुरले १२ रन जोडे ।

बलिङमा नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।

नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो । नेपालसहित अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।

अब नेपालले निर्णायक खेलमा शनिबार अफगानिस्तानविरुद्ध खेल्नुपर्नेछ । नेपाल र अफगानिस्तान प्रतियोगितामा अविजित छन् । शनिबार जसले बाजी मार्छ, त्यही टोली विश्वकपमा पुग्नेछ ।

Logo