ट्रफीका हिसाबले यी हुन् विश्वकै सर्वाधिक सफल १० क्लब [भिडियोसहित]

ट्रफीका हिसाबले यी हुन् विश्वकै सर्वाधिक सफल १० क्लब [भिडियोसहित]


काठमाडौं । पछिल्लो समय विश्व फुटबलमा एकछत्र राज गरिरहेको एकमात्र क्लब स्पेनिस जायन्ट रियल म्याड्रिड हो भनेर सायदै कसैलाई थाहा नहोला । किनभने रियलले पछिल्ला केही वर्षयता युरोपियन च्याम्पियन्स लिगलगायत ट्रफीहरु लगातार जितिरहेको छ । तर, विश्व फुटबलको इतिहासलाई केलाउने हो भने उपाधि संख्याको आधारमा रियल म्याड्रिड शीर्ष पाँचमा पनि पर्दैन। आजको रिपोर्टमा हामीले ट्रफीका हिसावले विश्वकै सर्वाधिक सफल क्लब कुन हो ? तपाईं हामीले प्रत्येक दिन सुन्दै आएको रियल म्याड्रिड, बार्सिलोना, म्यानचेष्टर सिटी, लिभरलुल, पिएसजी, बार्यन म्युनिखलगायत क्लबहरु कतिऔं नंबरमा अटाएका छन् भनेर यो रिपोर्ट तयार पारेका छौं ।

१. अल–अहली

ट्रफीका हिसावले विश्वकै सर्वाधिक सफल क्लब इजिप्सियन क्लब हो, अल–अहली । सन् १९०७ सम्म निर्मित यो क्लबले हालसम्म १२३ ट्रफीहरू जितिसकेका छन्। अल अहलीले हालसम्म ४३ वटा इजिप्टियन प्रिमियर लिग, ३९ वटा इजिप्ट कप, १२ वटा सिएएफ च्याम्पियन्स लिग, १४ वटा इजिप्सियन सुपर कप, ८ वटा सिएएफ सुपर कप र ४ वटा अफ्रिकन विनर कप जितेको छ । यसका अतिरिक्त अल अहली क्लब अहिलेसम्म पनि इजिप्टको दोस्रो डिभिजनमा घटुवा भएको छैन।

२. सेल्टिक

ट्रफीका हिसावले विश्वकै दोस्रो सर्वाधिक सफल क्लब सेल्टिक हो । यो क्लबले हालसम्म ११९ वटा ट्रफी जितेको छ । क्लबको १३७ वर्षे इतिहासमा यो स्कटिस क्लबले ५४ वटा स्टटिस लिग च्याम्पियन्ससिप, ४२ वटा स्कटिस कप, २२ वटा स्कटिस लिग कप र एउटा युरोपियन कप च्याम्पियन्स लिग गरी जम्मा ११९ वटा ट्रफी जितेको छ । सेल्टिक युरोपेली कप जित्ने ग्रेट ब्रिटेनको पहिलो क्लब पनि हो।

३. रेन्जर्स

तेस्रो सफल क्लबका रुपमा पनि स्कटिस क्लब रेन्जर्सको नाम आउँछ । सन् १८९० मा स्थापित यो क्लबले हालसम्म ११८ वटा ट्रफी जितेको छ । रेन्जर्सले ५५ वटा स्कटिस लिग टाइटल, ३४ वटा स्कटिस कप, २८ वटा स्कटिस लिग कप, ७ वटा डोमेस्टिक ट्रेबल र एउटा युरोपियन कप विनर कप जितेको छ । भनिन्छ क्लब रेन्जर्ससँग विश्व फुटबलकै सबैभन्दा ठूलो फ्यानबेस छ । सोही कारण ३५ देशहरूमा ६०० भन्दा बढी क्लबहरूको नाम रेन्जर्सबाट नै प्रभावित भएर राखिएको छ ।

४. क्लब नेशनल डे फुटबल

उरुग्वेली क्लब नेशनल डे फुटबल पनि विश्वकै सर्वाधिक सफल क्लबको चौथो नंबरमा पर्दछ । यो क्लबले हालसम्म ११६ वटा ट्रफीहरू जितेको छ । स्थापनाको १२५ वर्ष लामो इतिहास बोकेको क्लब नेशनल डे फुटबलसँग ४९ वटा प्राइमेरा डिभिजन, ४ वटा प्ल्याङ्क्वेटा मिलिङ्टन ड्रेक, ३ वटा डिभिजन इन्टर मिडिया, ३ वटा कोपा लिबोर्टाडोरेस, ३ वटा इन्टरकन्टिनेन्टल, ३ वटा कन्मेबोल लिबोर्टाडोरेस, ३ वटा सुपरकोपा, २ वटा कोपा इन्टरअमेरिकाना, एउटा रे कोपा सुडामेरिकाना र एउटा कन्मेबोल रे कोपा ट्रफी जितेको छ ।

५. एट्लेटिको पेनारोल

विश्वकै सर्वाधिक ट्रफी जित्ने पाँचौंं उरुग्वेली क्लब एट्लेटिको पेनारोल हो । यो क्लबले हालसम्म ११० वटा ट्रफी जितेको छ । सन् १८९१ मा स्थापित यो क्लबले स्थापनाकालदेखि अहिलेसम्म्म शीर्ष डिभिजनबाट कहिल्यै पनि रेलिगेसन झरेको छैन । एट्लेटिको पेनारोलले ११० वटा ट्रफी जित्ने क्रममा ५२ वटा उरुग्वे च्याम्पियन ट्रफी, ५ वटा कोपा लिबोर्टाडोरेस, ३ वटा इन्टरकन्टिनेन्टल, २ वटा सुपरकप अफ इन्टरकन्टिनेन्टल च्याम्पियन्स र २ वटा उरुग्वे प्राइमरा भिडिजन जितेको छ । इन्टरनेसनल फेडरेसन अफ फुटबल हिष्ट्री एण्ड स्टाटिक्सले क्लब ‘एट्लेटिको पेनारोल’लाई २० औं शताब्दीको दक्षिण अमेरिकाकै सर्वश्रेष्ठ क्लब घोषित गरेको थियो।

६. रियल म्याड्रिड

विश्वकै सर्वाधिक सफल क्लबको छैटौं नंबरमा स्पेनिस जायन्ट तथा युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक ट्रफी विजेता क्लब रियल म्याड्रिड रहेको छ । आधुनिक समयको सर्वाधिक सफल र धनि क्लब रियल म्याड्रिडले अहिलेसम्म १५ वटा च्याम्पियन्स लिग, ३६ वटा ला–लिगा, २० वटा कोपा डेल’रे, १३ वटा सुपरकोपा डि स्पाना, ६ वटा यूइएफ सुपर कप, ५ वटा फिफा वल्र्डकप, ३ वटा इन्टरकन्टिनेन्टल कप, २ वटा यूइएफए कपलगायत १०२ वटा ट्रफीहरु जितेको छ । रियल म्याड्रिडलाई विश्व फुटबलको सवोच्च संस्था फिफाले २०औं शताब्दीको सर्वोत्कृष्ट क्लबको उपाधि दिएको छ ।

७. बार्सिलोना

रियल म्याड्रिडपछि विश्वकै सर्वाधिक अर्को सफल क्लब हो, बार्सिलोना । यस वर्षको च्याम्पियन्स लिगको ट्रफी जित्ने प्रमुख दाबेदारका रुपमा रहेको बार्सिलोनाले हालसम्म ९८ वटा ट्रफी जितेको छ । बार्सिलोनाले ९८ वटा ट्रफी जित्ने क्रममा २७ वटा ला–लिगा, ३१ ओटा कोपा डेल रे, ५ वटा च्याम्पियन्स लिग, ५ वटा युरोपियन सुपर कप, ३ वटा फिफा क्लब वल्र्डकपलगायत ट्रफीहरु जितेको छ । बार्सिलोनाले जोहान क्राइफ, पेप ग्वार्डियोला, लियोनल मेसी र जाभीलगायत खेलाडीलाई जन्माएको जस दिने गरिन्छ ।

८. बेन्फिका

पोर्चुगलकै सर्वाधिक सफल क्लब बेन्फिका विश्वकै सर्वाधिक सफल क्लबको ८औं स्थानमा अटाएको छ । हालसम्म ८५ ट्रफी जितिसकेको बेन्फिकाले छोटो समयमै युरोपियन फुटबलमा भिन्न परिचय बनाउन सफल भएको छ । पोर्चुगिच फुटबलका लेजेन्ड तथा विश्वफुटबलका स्टार युसेबियोले सन् १९६५ को बालोन डी’ओर यहि क्लबाट जितेका थिए । एन्जल डि मारिया, डार्विन नुनेज, डेभिड लुइज र नेमान्जा म्याटिक जस्ता आधुनिक समयका स्टार खेलाडीलाई भित्राएर ट्रफीको लाइन लगाउन सफल बेन्फिकाले ८५ ट्रफी जित्ने क्रममा ३८ वटा प्रिमाइरा, २६ वटा टाका डे पोर्चुगल, ८ वटा टाका दा लिगा, ९ वटा सुपरटाका क्यान्डिडो डे ओलिभेरा, ३ वटा पोर्चुगल क्याम्पियोनाटो, २ वटा युरोपेली च्याम्पियन्स क्लब कप र एउटा ल्याटिन कप जितेको छ ।

९. पोर्टो

संसारकै सबैभन्दा धेरै ट्रफी जित्ने ९औं क्लब एफसी पोर्टो हो । हालसम्म ८५ वटा ट्रफी जितिसकेको पोर्टोले आफ्नो १३० वर्ष इतिहासमा ३० प्राइमिरा लिगा, १९ टाकास डे पोर्चुगल, दुई युरोपियन च्याम्पियन्स लिग र दुई युरोपा लिग जितेको सुनौलो इतिहास छ । सन् २००४ जोसे मोरिन्होको अविश्वसनीय प्रशिक्षमा दोस्रो युरोपियन च्याम्पियन्स लिगको ट्रफी जित्न सफल पोर्टोले त्यसयता युरोपियन प्रतियोगिताहरुमा खासै राम्रो नतिजा ल्याउन सकेको छैन । सन् १८९३ मा स्थापना भएको पोर्टो संसारकै सबैभन्दा पुरानो क्लबमध्ये एक हो ।

१०. अल–फैसली

संसारकै सबैभन्दा धेरै ट्रफी जितेको सूचीमा पर्ने क्लब तर निकै कम सुनिएको र अपरिचित नाम हो जोर्डनको अल–फैसली फुटबल क्लब । पहिले अल–अश्बल क्लबका रूपमा चिनिने यो क्लबको अस्तित्व ९१ वर्षअघि अर्थात सन् १९३२ मा निर्मित क्लब हो । यो क्लबले हालसम्म ८४ वटा ट्रफीहरु जितेको छ । ८४ वटा ट्रफी जित्ने क्रममा अल–फैसलीले ३५ वटा लिग कप, २१ वटा जोर्डन एफए कप, १७ वटा जोर्डन सुपर कप जितेता पनि क्लबले एसियाली फुटबल महासङ्घ(एएफसी) स्टेजमा भने अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन ।

हामीले माथी उल्लेख गरेका १० सर्वाधिक उपाधि जित्ने ट्रफी बाहेक पनि जर्मन क्लब बार्यन म्यूनिखसँग ८३ वटा ट्रफी, ग्रिस क्लब ओलम्पियाकोससँग ८० वटा ट्रफी, नेदरल्याण्ड्सको अजाक्ससँग ७३ वटा ट्रफी, एटालियन क्लब युभेन्टससँग ७१ वटा ट्रफीका साथ सर्वाधिक सफल क्लबको दौडमा दौडिरहेका छन् ।

Logo