काठमाडौं । आइसिसी विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ(क्यान)ले ‘द कोर क्याम्प’ बाट खेलाडी छनौट प्रक्रिया सुरु गर्ने भएको छ।
क्यानले कोर क्याम्पका लागि प्रधानमन्त्री कप खेलेका ५२ जना क्रिकेटरलाई समेतेर छनौट प्रक्रिया सुरु गर्न लागेको हो । उक्त छनौट प्रक्रियामा अन्डर १९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव पनि थपिएका छन्।
५२ जना खेलाडीलाई क्यानले ब्ल्यु, रेड, ग्रिन र एल्लो गरी चार समूहमा विभाजन गराएर एकअर्काविरुद्ध खेलाउने तयारी गरेको हो । यी ४ टोलीलाई मुलपानीको माथिल्लो र तल्लो मैदानमा वैशाख १३ देखि २० गतेसम्म प्रतिस्पर्धा गराइने छ । हरेक टिममा १३ खेलाडी राखिएको छ। नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल’को प्रत्यक्ष निगरानीमा यी खेलाडीहरूबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ जसबाट अन्तिम टोली छनोट प्रक्रियाबाट अगाडि बढाइनेछ। स्टुअर्ट यहि १२ गते अर्थात पर्सि शुक्रबार नेपाल आइपुग्ने छन्।
क्यानका अनुसार ब्ल्यु टिमको कप्तानी राष्ट्रिय टिमका समेत कप्तान रहेका रोहितकुमार पौडेलले गर्नेछन् । यो टिममा प्रज्वल थापा, देव खनाल, अनिल साह, सकिब हक, सूर्य तामाङ, सन्दिप जोरा, कुशल मल्ल, गुल्सन झा, हेमन्त धामी, करण केसी, दिपेश कँडेल र युवराज खत्री छन् ।
यस्तै ग्रिन टिमको कप्तानी आसिफ शेखले गर्नेछन् । उनको टिममा सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दीलिप नाथ, विवेक यादव, पिन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान र सन्तोष यादव रहेका छन्।
सन्दीप लामिछानेले कप्तानी गर्ने टिम रेडमा अर्जुन साउद, तृतराज दास, भीम सार्की, शुभ कंसाकार, शाहाब आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिश जीसी र नरेन भट्ट छन् ।
यस्तै टिम एल्लो दीपेन्द्रसिंह ऐरीको कप्तानीमा तोकिएको छ । यो टिममा विनोद भण्डारी, मयन यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललित राजवंशी, अर्जुन घर्ती, किरण ठगुन्ना, अभिनाष बोहोरा, रुपेश सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दिपेन्द्र रावत छन् ।
शनिबार छनौट प्रक्रियाको पहिलो दिन कप्तान रोहित पौडेलको टोलीले आसिफ शेखको टोलीसँग माथिल्लो मुलपानी मैदानमा भिड्दा सन्दीप र दीपेन्द्रको टोली तल्लो मैदानमा आमनेसामने हुनेछन्।
यस्तै आइतबार ब्लयु र एल्लो तथा रेड र ग्रिन भिड्नेछन्। मंगलबार रेड र एल्लो, ब्लयू र ग्रिन भिड्ने क्यानले जनाएको छ। बुधबार एल्लो र ग्रिन तथा ब्ल्यु र रेडबिच खेल हुनेछ। शुक्रबार ग्रिन र रेड तथा एल्लो र ब्लु भिड्नेछन्। शनिबार अन्तिम चरणका खेलहरु हुनेछन्। जहाँ अन्तिम चरणमा ग्रिन ब्लुविरुद्ध खेल्दा एल्लो रेडसँग भिड्ने क्यानले जनाएको छ।
खेलाडी छनौटपछि नेपालले जुन पहिलो हप्ता लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्यान्ड्सका विरुद्धमा यस वर्षको पहिलो र सिरिजको १३औं खेल खेल्नेछ । हालसम्म नेपालले खेलेका १२ खेलमध्ये २ खेलमा मात्रै जित हात पारेको छ भने ८ खेलमा हार र २ खेल विना नतिजा रद्द भएका छन् । आइसिसी विश्वकप लिग–२ को शिर्ष स्थानमा २२ अंकसहित अमेरिका पहिलो, २० अंकसहित नेदरल्यान्ड्स दोस्रो र २० अंकसहित नै क्यानडा तेस्रो स्थानमा रहेको छ ।
आइसिसी विश्वकप लिग–२ बाट विश्वकपमा छनौट हुनका लागि तालिकाको शीर्ष चार स्थान सुरक्षित बनाउन सक्नुपर्छ । किनभने शीर्ष चारमा स्थान पक्का गर्ने टोलीहरूले विश्वकप क्वालिफायरमा सिधैं प्रवेश पाउँछन्। यसका लागि अब नेपालले बाँकी रहेका सबैजसो खेलहरुमा जित निकाल्नु बाहेक विकल्प छैन । किनभने नेपालले हालसम्म १२ खेल खेल्दै ६ अंक मात्र जोड्न सकेको छ ।
नेपालले अब ठ्याक्कै उत्तिनै अर्थात १२ खेल नै खेल्न बाँकी छ । प्रतियोगिताको शिर्ष स्थानमा रहेको अमेरिकासँग १६ खेलबाट २२ अंक लिन सफल भएको छ भने दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पनि १६ खेलबाट २० अंक बटुल्न सफल भएको छ । हाल शिर्ष ४ भित्र अमेरिका, नेदरल्यान्ड्स, क्यानडा र ओमान रहेका छन् । यी सबै राष्ट्रहरुले १६ खेल खेल्दै सन् २०२७ मा हुने विश्वकपका लागि बलियो दावेदारी प्रस्तुत गरिसकेका छन् ।
त्यसैकारण अब नेपालले स्टुअर्ट ल’को नेतृत्वमा १२ वटै खेल जित्दै लिग–२ को शीर्ष चारमा रहने सक्दो प्रयास गर्नु सिवाय अरु विकल्प छैन । यो क्वालिफायरमा कुल ८ राष्ट्रहरू सहभागी छन् । लिग–२ मा नेपालसँगै, स्कटल्याण्ड, नेदरल्यान्ड्स, ओमान, अमेरिका, संयुक्त अरब इमिरेट्स, नामिबिया, र क्यानडा समावेश छन्।
नेपालले नेदरल्यान्ड्सविरुद्ध हालसम्म एकदिवसिय र टी–२० प्रतियोगितामा गरी १८ खेलेको छ । जहाँ नेपालले ७ खेलमा जित हात पारेको छ भने १० खेलमा हार व्यहोरेको छ । अर्कोतर्फ स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसिय र टी–२० प्रतियोगितामा गरी ९ खेल खेल्दा ४ वटामा जित र ४ वटामा हार र १ खेल नतिजा विहिन भएको थियो ।
स्टुअर्ट ल’को नेतृत्वमा अमेरिकाले २०२४ मा सम्पन्न टी–२० विश्वकपमा पाकिस्तानलाई सुपर ओभरमा हराएर विश्व क्रिकेटमा ठूलो हलचल नै मच्चाएको थियो। स्टुअर्टकै नेतृत्वमा अमेरिका उक्त विश्वकपको सुपर ८ मा प्रवेश गरेको थियो । जस कारण सन् २०२६ मा हुने टी–२० विश्वकपमा अमेरिकाले स्वतः छनौट हुने अवसर पायो ।
ठुला राष्ट्र वेस्ट इन्डिज, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, र अमेरिकाको मुख्य प्रशिक्षक बनिसकेका स्टुअर्ट’ को रणनीतिक प्रशिक्षण र अनुभवले नेपाललाई स्कटल्याण्ड, नेदरल्यान्ड्स, र क्यानडा जस्ता बलिया एसोसिएट्स राष्ट्रविरुद्ध बलियो प्रतिस्पर्धामा दिन सक्छन् । उनले नेपाली टोलीको बलिङ र ब्याटिङमा आमूल सुधार ल्याई लिग–२ का खेलमा सकारात्मक नतिजा ल्याउन अभिन्न भूमिका खेल्ने सुनौलो अवसर पाएका छन् ।





























प्रतिक्रिया