दिल्लीलाई हराउँदै बेङ्गलोर आईपीएलको शीर्ष स्थानमा

दिल्लीलाई हराउँदै बेङ्गलोर आईपीएलको शीर्ष स्थानमा

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बेङ्गलोरले दिल्लीलाई उसकै मैदानमा ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १६३ रनको लक्ष्य बेङ्गलोरले ४ विकेटको क्षतिमा ९ बल बाँकी छँदै पूरा गर्यो । बेङ्गलोरको जितमा क्रुनाल पाण्ड्याले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा अविजित ७३ रनको योगदान दिए। सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

यसैगरी विराट कोहलीले ५१ रन जोडे । अन्त्यतिर टिम डेभिडले ५ बलमा छिटो १९ रन थप्दै जित सुनिश्चित गरे।

बलिङमा दिल्लीका अक्षर पटेलले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। केएल राहुलले ३९ बलमा ४१ रन जोडे । ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रन थपे । अभिषेक पोरेलले २८ रन तथा फाप डु प्लेसिसले २२ रन जोडे ।

बलिङमा बेङ्गलोरका भुवनेश्वर कुमारले तीन विकेट झारे भने जोस हजेलउडले दुई विकेट लिए।

यो जितसँगै १० खेलबाट १४ अङ्क बनाएको बेङ्गलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलमा १२ अङ्कसहित दिल्ली चौथो स्थानमा छ । यता २ खेल कम खेलेको गुजरात टाइटन्स तालिकाको दोस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo