काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्धको टी २० सिरिजमा ऐतिहासिक जित निकालेको छ । घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो।
बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो । १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । यूएईका लागि अलिशान शराफुले ४७ बलमा पाँच चौका र तीन छक्का सहित अविजित ६८ रन बनाए। उनले आसिफ खानसँग चौथो विकेटका लागि ८७ रनको अविजित साझेदारी गरे जसमा आसिफले २६ बलमा पाँच छक्का सहित नटआउट ४१ रन जोडे।
बंगलादेशका शोरिफुल इस्लाम, तन्जिम हसन शाकिब र रिशाद होसेनले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। बंगलादेशका लागि जाकिर अलीले ४१ रन तथा तन्जिद हसनले ४० रन जाेडे ।
यूएईका बायाँ हाते स्पिनर हैदर अलीले ३ विकेट लिँदा मतिउल्लाह खान र सघिर खानले २-२ तथा अकिफ राजा र ध्रुव पराशरले १-१ विकेट लिए ।
सिरिजको पहिलो खेलमा बंगलादेशले २७ रनको जित निकाल्दा दोस्रो खेलमा यूएई २ विकेटले विजयी भएको थियो ।
पछिल्लो समय ५० ओभरमा खेलमा कमजोर प्रदर्शन गरिरहेको युएईले टी-२० मा भने सनसनी नै मच्चाइरहेको छ ।





























प्रतिक्रिया