काठमाडौं । युरोपकै सर्वाधिक सफल क्लब रियल म्याड्रिडमा १३ सिजन बिताएका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले अन्ततः बर्नाबेउ छाड्ने घाेषणा गरेका छन् । उमेरले ३९ वर्ष भइसकेका मोड्रिचले रियलका लागि जित्न अब बाँकी केही छैन ।
सन् २०१२ मा इङ्लिस क्लब टोटनह्याम छाडेर रियलमा आवद्ध भएका लुकाले १३ वर्षमा रियलमा २८ वटा ट्रफी जितेका छन् । २८ वटा ट्रफीमध्ये ६ वटा त लुकाले युरोपियन च्याम्पियन्स लिग र क्लब विश्वकप मात्र जितेका छन् । जुन बार्सिलोनाले १२४ वर्षमा जितेको ५ युरोपियन च्याम्पियन्स लिग भन्दा बढी हो । यसका साथैं लुकाले ४ वटा ला–लिगा, दुई वटा कोपा डेल रे, पाँच वटा स्पेनिस सुपरकप, पाँच वटा युरोपियन सुपरकप र एउटा इन्टरकन्टिनेन्टल कप पनि जितेका छन् ।
विश्वफुटबलका सर्वकालिन महान खेलाडी क्रिस्टियानो रोनाल्डोसँग रियलमा ६ वर्ष ड्रेसिङ रुम सेयर गरेका लुकाले, हिग्विन, एन्जल डि मारिया, मार्सेलो, पेपे, इकर कासियास, जाबी अलोन्सो, सामी केडिरा, मेसुट ओजिल, काका र करिम बेन्जिमालगायत खेलाडीहरुसँग वर्षौंं एकसाथ खेलेका छन् ।
१३ सिजन रियलमा बिताएका लुका रियलबाट बिदा हुने पक्का भएपछि अब भने रियल म्याड्रिडको क्रिस्टियानो रोनाल्डोलाई प्रतिबिम्बित गर्ने गोल्डेन पुस्ताको अन्त्य भएको छ । क्रिस्टियानो रोनाल्डो पुस्ताका एकमात्र लुकाले पनि रियल म्याड्रिड छाड्ने पक्का भएसँगै अब भने रियल पूर्ण रुपमा नयाँ पुस्ताले भरिएको टोली बनेको छ ।
अब रियलको बिँडो सम्हाल्ने जिम्मा युवा स्टार किलियन एमबापे, भिनिसियस जुनियर, जुड बेलिङ्घम, डेभिड अलावा, रोड्रिगो र एन्ड्रिकको काधँमा आएको छ । कुनै समय एकसाथ खेलेका जाबी अलोन्सो रियलको प्रमुख प्रशिक्षक बनेर आउने पक्का भएपछि समकक्षीको अन्डरमा लुकाले कसरी खेल्नेछन् भनेर धेरैले ब्यग्र प्रतिक्षा गरेका थिए ।
तर जाबीको छत्रछायाँमा लुकाले क्लब विश्वकपका केही खेल मात्र खेल्दै रियलबाट सधैंका लागि बाहिरिने भएका छन् । अझ भनौं लुकाले रियलको घरेलु मैदानमा बर्नाबेउमा रियलका लागि लागि आज शनिबार रियल सोसिडाडविरुद्ध अन्तिम पटक खेल्ने छन् ।
सन् २०१८ मा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीको एकछत्र राज तोड्दै पहिलो र एकमात्र बालोन डी’ओर जितेका लुकाले उक्त सिजन रियलका लागि युरोपियन च्याम्पियन्स लिग, युरोपियन सुपर कप, फिफा क्लब विश्वकप र स्पेनिस सुपर कपसहित चार वटा मेजर ट्रफी जित्नुका साथै क्रोएसियालाई पनि इतिहासमै पहिलो पटक फिफा विश्वकपको फाइनलमा पुर्याएर इतिहास कोरेका थिए । उक्त फाइनलमा फ्रान्ससँग ४–२ गोलले हारे पनि लुकाले प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको ट्रफी जितेका थिए ।
पुस्तान्तरणको प्रकियामा रहेको रियलबाट लुका बिदा भएपनि उनले आफ्नो बिँडो थाम्न आएका युवा मिडफिल्डर जुड बेलिङ्घम, एडुआर्डो कामाभिङ्गा, औरेलियन चौमानी र फेडेरिको भल्भर्डे लाई राम्रो ट्रेनिङ दिइसकेका छन् । यी युवा खेलाडीले लुकालाई पूर्णरुपमा बिर्साउन नसकेता पनि उनको कमीलाई भने केही हदसम्म कम गर्न सक्ने ल्याकत राख्छन् ।
१ दशकभन्दा बढि समय रियल म्याड्रिडको मिडफिल्डमा एकछत्र राज गरेका लुकाले रियलका लागि ४२ गोल गर्नुका साथैं २३ असिस्ट गरेका छन् । आधुनिक समयका सर्बोत्कृष्ट मिडफिल्डरका रुपमा १३ वर्ष रियलका लागि खेलेका लुकाको रचनात्मक प्लेमेकर शैलीमा मोहित नहुने सायदै कोही खेलप्रेमी होलान ! उमेरले ४० बसन्त छुनै आटेका लुका अब युरोपियन फुटबलमै रमाउँछन् कि रोनाल्डो र मेसीले जस्तै एसियाली र अमेरिकी क्लब छान्छन् त्यो भने हेर्न बाँकि नै छ ।





























प्रतिक्रिया