काठमाडौं । रियल म्याड्रिडले सहज जितको साथ ला लिगाको सिजनको अन्त्य गरेको छ। गएराति सान्टियागो बर्नाबेउमा भएको खेलमा म्याड्रिडले रियल सोसिडाडलाई २(० ले पराजित गरेको हो ।
फरवार्ड केलियन एम्बाप्पे चम्किए, टोलीलाई जित दिलाउन उनले दुवै गोल गरे । एम्बाप्पेले ३८औं मिनेटमा पहिलो गोल गरे । उनको सुरुवाती पेनाल्टी प्रहार रियल सोसिडाडका गोलकिपर उनाई मार्रेरोले बचाए पनि एम्बाप्पेले फुर्तिका साथ रिबाउन्डमा गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।
८३औं मिनेटमा उनले अर्काे गाेल गर्दै जित सुनिश्चित गरे । भिनिसियस जुनियरसँगको तालमेलमा एम्बाप्पेले सटीक पास प्राप्त गरे र साँघुरो कोणबाट देब्रे खुट्टाले प्रहार गर्दै खेलमा आफ्नो दोस्रो गोल गरे ।
यो दुई गोलसँगै एम्बाप्पेको रियल म्याड्रिडमा आफ्नो डेब्यु सिजनमा ला लिगामा गोल संख्या ३१ पुगेको छ । उनले युरोपियन गोल्डेन सुजको दौडमा आफूलाई उभ्याएका छन् र आफ्नो पहिलो ला लिगा सिजनमा ३० भन्दा बढी गोल गर्ने पहिलो रियल म्याड्रिड खेलाडी बनेका छन् ।
रियल म्याड्रिडले दोस्रो स्थानमा रहँदै लिगकाे समापन गरेको छ । यता सोसिडाड ११औं स्थानमा रह्याे ।
यो खेल रियल म्याड्रिडका लागि लुका मोड्रिच र प्रशिक्षक कार्लो एन्सेलोटी लगायतका खेलाडीहरूको अन्तिम घरेलु खेल पनि थियो, जसले गर्दा यो भावनात्मक बिदाइको क्षण पनि बन्यो।





























प्रतिक्रिया