काठमाडाैं । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै पहिलोपटक बेंगलुरु आईपीएलको उपाधि नजिक पुगेको हाे ।
पञ्जाब किंग्स निराशाजनक ब्याटिङ प्रदर्शन गर्दै १४.१ ओभरमा १०१ रनमा अलआउट भएको थियो। बेंगलुरुले यो लक्ष्य आधा इनिङ्स बाँकी रहँदै पूरा गरेको थियो। १० ओभरमा मात्र २ विकेटकाे क्षतिमा लक्ष्य भेट्याएकाे हाे ।
बेंगलुरुका लागि ओपनिङ ब्याट्सम्यान फिल साल्टले २७ बलमा अविजित ५६ रन बनाएका थिए । यो जित आईपीएल प्ले-अफको इतिहासमा बल बाँकीको आधारमा बेंगलुरुको सबैभन्दा ठूलो जित हो।
अब बेंगलुरु मंगलबार हुने फाइनलमा सिधै प्रवेश गरेको छ। यो उनीहरूको सन् २०१६ यताको पहिलो फाइनल प्रवेश हो। यता, पञ्जाब किंग्सले शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको खेलको विजेतासँग खेल्नेछ। उक्त खेलको विजेताले उपाधि भिडन्तमा अर्को स्थान सुरक्षित गर्नेछ।
पञ्जाब किंग्स नियमित सिजनको तालिकामा नेट रन-रेटको आधारमा बेंगलुरुभन्दा अगाडि रहेर शीर्ष स्थानमा थियो। नयाँ चण्डीगढमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको पञ्जाबले तत्कालै समस्याको सामना गर्नुपर्यो र पावरप्ले भित्रै ३८-४ को स्थितिमा पुगेको थियो।
मार्कस स्टोइनिसले छैटौं नम्बरमा ब्याटिङ गर्दै २६ रन बनाएका थिए जुन किंग्सका लागि सर्वाधिक थियो। यसबाहेक, ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह र पुछारका ब्याट्सम्यान अजमतुल्लाह दुवैले समान १८ रन मात्र जाेड्न सफल भएका थिए।
बेंगलुरुका स्पिनर सुयश शर्मा र तीव्र गतिका बलर जोश हेजलवुडले समान तीन-तीन विकेट लिएका थिए ।































प्रतिक्रिया