नेपालले टी-२० मा १२ वर्षपछि हरायो स्कटल्याण्डलाई, सन्दीप प्लेयर अफ द म्याच

नेपालले टी-२० मा १२ वर्षपछि हरायो स्कटल्याण्डलाई, सन्दीप प्लेयर अफ द म्याच

केन्द्रबिन्दु
417
Shares

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालले स्कटल्याण्डमाथि टी-२० फर्म्याटमा १२ वर्षपछि जित निकालेकाे हो । यसअघि सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । टी-२०आईमा भने यो पहिलो भेट हाे ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए ।

करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् ।

खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए ।

Skip This
Skip This
Logo