काठमाडौं । नेपालले एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजयी सुरुजात गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको हो ।
सिङ्गापुरले जितको लागि दिएको एक सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो ।नेपालका लागि प्रसिद्ध जैशीले उत्कृष्ट ब्याटिङ गर्दै ९७ बलमा ५५ रनको अर्धशतकीय पारी खेले । उनलाई रौनक श्रीवास्तवले ४४ बलमा ४० रन बनाएर राम्रो साथ दिए। यी दुई खेलाडीको महत्त्वपूर्ण साझेदारीले नेपालको जितको आधार तयार पारेको थियो।
सिंगापुरका बलर आकाश तेजाले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए भने युवआन पाण्डेले १० ओभरमा ३२ रन दिएर १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।
त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए ।
सिङ्गापुलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।
एसिसीको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।































प्रतिक्रिया