काठमाडौँ
बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्गत आफ्नो पहिलो खेलमा साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । बंगलादेशको सिलेटस्थित रंगशालामा भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल खाँदै नेपाल ताजिकिस्तानसँग पराजित भएको हो ।
समूह ए तर्फको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २-० ले पराजित भयो । यो पराजयपछि नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । ताजिकिस्तानका लागि २-० को नतिजा निकाल्ने क्रममा २७ औं मिनेटमा फाथुल्लो फाथुलोभले पेनाल्टीबाट गोल गरे ।
नेपाली खेलाडी अनन्त तामाङले डी बक्सभित्र फल गरेपछि ताजिकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई फाथुलोभले सजिलै गोलमा परिणत गरे । त्यस्तै ताजिकिस्तानले अर्को गोल दोस्रो हाफमा गर्यो । उसका लागि खेलको ७० औं मिनेटमा तुरुनोवले हेडबाट गोल गर्दै अग्रता २-० मा पुर्याए ।
ताजिकिस्तानसँग पराजित भएपछि समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा नेपालले जित निकाल्नै पर्छ । नेपालको अघिल्लो चरणको यात्रा बिहीबार ताजिकिस्तान र प्यालेस्टाइनबीच हुने खेलको नतिजामा पनि भर पर्नेछ ।
अन्नपूर्णबाट































प्रतिक्रिया