काठमाडौं । साविकको विजेता नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि रक्षाका लागि सामान्य लक्ष्य प्राप्त गरेको छ । आज भएको फाइनल खेलअन्तर्गत टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुर ४०.५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको हो ।
नेपालको धारिलो बलिङसामू सिंगापुरका खेलाडी क्रिजमा टिक्नै सकेनन् । सिंगापुरका लागि रोशन अस्टिनले ८४ बल खेलेर २३ रन जोडे । कप्तान रियाम नाइकले १५ रन बनाए। यस्तै, वेदांश गुप्ताले १२ र आकाश तेजाले १० रनको योगदान दिए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई सस्तैमा समेट्न सफल भए। अभय यादव र सुशील बहादुर रावलले समान ३-३ विकेट लिए। अभयले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने सुशीलले ८ ओभरमा ३८ रन दिएर ३ विकेट हात पारे। शुभम् खनालले २ विकेट लिएका थिए भने बिपिन प्रसाद शर्माले १० ओभरमा मात्र १४ रन खर्चेर १ विकेट लिए।
साविक विजेता नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै दोस्रोपटक उक्त उपाधि जित्ने लक्ष्य राखेको छ, भने सिंगापुर अप्रत्यासित जित निकाल्दै पहिलो पटक उपाधि चुम्ने दाउमा छ ।
आफूलाई अजेय सावित गर्दै फाइनलमा स्थान बनाएको नेपाली यू–१६ टोलीले प्रतियोगितामा खेलेका चारवटै खेलमा शानदार जित हासिल गर्दै आठ अंकसहित शीर्ष स्थानमा रहेको थियो । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले, तेस्रो खेलमा इन्डोनेसियामाथि कीर्तिमानी ३७० रनको जित हासिल गरेको थियो
।
यस्तै, समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।































प्रतिक्रिया